मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ऋणको नतिर्न दुई युवाको हत्या, चप्पलले खोल्यो रहस्य

2.1K
SHARES
ऋणको नतिर्न दुई युवाको हत्या, चप्पलले खोल्यो रहस्य

काठमान्डु । ललितपुरमा दुई जना युवक हराएको निवेदन परेपछि सुरु भएको अनुसन्धानले अन्ततः दोहोरो हत्याको रहस्य खोलेको छ । २०८२ मंसिर २८ गते जिल्ला प्रहरी परिसर ललितपुरमा भोजपुरका २१ वर्षीय पारुहाङ राई र सिन्धुलीका २५ वर्षीय केशवराज हायु बेपत्ता भएको भन्दै छुट्टाछुट्टै निवेदन दर्ता भएका थिए ।

प्रहरीले खोजतलाससँगै सम्भावित आपराधिक घटनाको आशंकामा अनुसन्धान अघि बढायो । कल डिटेल र प्राविधिक विश्लेषणका क्रममा केही शंकास्पद नम्बरहरू निगरानीमा राखियो । यसैबीच पुस २ गते ललितपुरको महालक्ष्मी नगरपालिका–८, लुभुस्थित तरकारी बारीको इनारमा एक शव फेला पर्‍यो । पछि उक्त शव केशवराज हायुको भएको पुष्टि भयो ।

हायु हराएको विषयमा बुझ्न प्रहरी सम्पर्कमा आएका सिन्धुलीका देवराज ढुंगेलमाथि शंका गहिरियो । उनी हायुका जेठान दाइ भएको दाबी गर्थे र दुवै मिलेर कृषि फार्म सञ्चालन गर्दै आएका थिए । घटनास्थल नजिकै फेला परेको एक जोर चप्पल र त्यससँग मिल्दोजुल्दो भिडियो प्रमाणले अनुसन्धान देवराजतर्फ मोडियो ।

प्रहरीले देवराजको कोठामा खानतलासी गर्दा हत्यामा प्रयोग भएका सामग्री बरामद गर्‍यो । त्यसपछि उनले हत्या स्वीकार गर्दै सिन्धुलीकै जयराम अधिकारीको संलग्नता पनि खुलाए । जयराम पक्राउ परेपछि उनले पनि केशवराज हायुको हत्या मात्र होइन, पारुहाङ राईको हत्या पनि दुवै मिलेर गरेको बयान दिए ।

जयरामको बयानका आधारमा भक्तपुरको देउराली भञ्ज्याङको झाडीबाट पारुहाङको शव फेला पर्‍यो । अनुसन्धान अनुसार, आर्थिक लेनदेन र ऋण तिर्न नसक्ने अवस्थाले दुईवटै हत्या भएको खुलेको छ । पारुहाङले वैदेशिक रोजगारीका लागि बुझाएको रकम देवराजले आफ्नै ऋण तिर्न प्रयोग गरेका थिए भने केशवराजसँग पनि ठूलो रकमको विवाद थियो ।

प्रहरीका अनुसार दुवै युवकलाई छुट्टाछुट्टै मितिमा एउटै हतौडाले हत्या गरिएको हो । देवराज र जयराम हाल ललितपुर प्रहरीको हिरासतमा छन् । जिल्ला अदालतले अनुसन्धानका लागि पहिलो चरणमा सात दिनको म्याद दिएको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ८, मंगलवार ००:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP