मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दलाई लामाको जन्मोत्सव मनाइएको घटनाप्रति सात पूर्वराजदूतको आपत्ति, सरकारसँग स्पष्टीकरणको माग

377
SHARES
दलाई लामाको जन्मोत्सव मनाइएको घटनाप्रति सात पूर्वराजदूतको आपत्ति, सरकारसँग स्पष्टीकरणको माग

काठमाडौं । नेपालमा दलाई लामाको ९१औँ जन्मोत्सव मनाइएको घटनालाई लिएर चीनका लागि नेपालका सात जना पूर्वराजदूतले गम्भीर चासो व्यक्त गर्दै सरकारसँग स्पष्ट जवाफ माग गरेका छन् । उनीहरूले संयुक्त वक्तव्य जारी गर्दै उक्त कार्यक्रम सरकारको जानकारी वा सहमतिमा भएको हो भने त्यसले नेपालको परराष्ट्र नीतिमाथि प्रश्न उठाउने बताएका छन् ।

संयुक्त वक्तव्यमा पूर्वराजदूतहरू राजेश्वर आचार्य, महेन्द्र पाण्डे, टंक कार्की, महेश मास्के, लीलामणि पौडेल, विष्णुपुकार श्रेष्ठ र कृष्णप्रसाद ओलीले हस्ताक्षर गरेका छन् । उनीहरूले नेपालले दशकौँदेखि निरन्तर अवलम्बन गर्दै आएको ‘एक–चीन नीति’सँग यस्ता गतिविधि मेल नखाने उल्लेख गरेका छन् ।

गत असार २२ गते काठमाडौंको नागार्जुन नगरपालिका–२ स्थित नामग्याल विद्यालयमा दलाई लामाको ९१औँ जन्मदिन मनाइएको समाचार सार्वजनिक भएपछि उनीहरूले त्यसप्रति औपचारिक धारणा सार्वजनिक गरेका हुन् । वक्तव्यमा सरकारले कार्यक्रमलाई स्वीकृति दिएको हो वा होइन भन्ने विषयमा स्पष्ट पार्न आग्रह गरिएको छ ।

पूर्वराजदूतहरूको भनाइमा यदि राज्यको सहमतिमा यस्तो कार्यक्रम आयोजना गरिएको हो भने त्यसले नेपाल–चीन सम्बन्धमा स्थापित विश्वासमा असर पार्न सक्नेछ । साथै, नेपालले अवलम्बन गर्दै आएको सन्तुलित भू–राजनीतिक नीति कमजोर बन्ने जोखिम पनि रहने उनीहरूको चेतावनी छ ।

वक्तव्यमा नेपालले विगतदेखि आफ्नो भूमिबाट कुनै पनि मित्र राष्ट्रविरुद्ध गतिविधि हुन नदिने प्रतिबद्धता दोहोर्याउँदै आएको स्मरण गराइएको छ । परराष्ट्रमन्त्री शिशिर खनालको हालै सम्पन्न चीन भ्रमणका क्रममा पनि यही प्रतिबद्धता पुनः व्यक्त गरिएको उल्लेख गर्दै उनीहरूले अहिलेको घटनाले नेपालको परराष्ट्र नीतिमा कुनै परिवर्तन आएको हो भन्ने प्रश्न उठाएका छन् ।

पूर्वराजदूतहरूले यस्ता संवेदनशील विषयमा सरकारले अत्यन्त सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । उनीहरूका अनुसार छिमेकी राष्ट्रसँगको सम्बन्धलाई असर पार्ने गतिविधिले मुलुकको स्थायित्व, विकास र स्वतन्त्र परराष्ट्र नीतिमा दीर्घकालीन प्रभाव पार्न सक्छ ।

उता, दलाई लामाको जन्मोत्सव आयोजना हुनुअघि नै जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्ला सुरक्षा समितिको बैठक बोलाएर कार्यक्रमबारे छलफल गरेको जानकारी समेत सार्वजनिक भएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ असार २५, बिहीबार १०:०५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP