मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनसरी घटनापछि प्रधानमन्त्रीको अपिल: संयम अपनाऔँ, दोषीलाई कानुनअनुसार कारबाही हुन्छ

78
SHARES
सुनसरी घटनापछि प्रधानमन्त्रीको अपिल: संयम अपनाऔँ, दोषीलाई कानुनअनुसार कारबाही हुन्छ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नागरिकलाई संयमित रहन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।

मध्यराति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घटनाले समग्र समाजमा भय र अविश्वासको वातावरण सिर्जना गरेको भन्दै यसले आफूलाई प्रधानमन्त्रीका रूपमा मात्र होइन, एक नागरिकका रूपमा पनि मर्माहत बनाएको बताएका हुन् ।

उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री शाहले घटनाका दोषीमाथि कानुनबमोजिम कारबाही हुने स्पष्ट पार्दै यस्ता घटना दोहोरिन नदिन सरकारले आवश्यक निर्णय र सुधारका काम अघि बढाइसकेको जानकारी दिएका छन् । उनका अनुसार घटनाको सुरुदेखि नै सरकार सक्रिय भए पनि त्यसले अपेक्षित परिणाम दिन नसकेको स्वीकार गरेका छन् ।

सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान गएको घटनालाई गम्भीर रूपमा लिइएको उल्लेख गर्दै उनले त्यसबारे अनुसन्धान सुरु भइसकेको र दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने विश्वास दिलाएका छन् ।

प्रधानमन्त्रीले आक्रोश र बदलाको भावनाले थप हिंसा निम्त्याउने भएकाले सबैलाई धैर्य र संयमता अपनाउन आग्रह गरेका छन् । सरकारले मृतकका परिवार, घाइते तथा प्रभावित सबैलाई न्यायको अनुभूति गराउने गरी काम गर्ने प्रतिबद्धता पनि उनले दोहोर्‍याएका छन् ।

उनले समाजमा शान्ति, सद्भाव र आपसी विश्वास कायम राख्नु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको उल्लेख गर्दै नागरिकलाई उत्तेजनामा नआउन र कुनै पनि प्रकारका उक्साहटमा नलाग्न अनुरोध गरेका छन् ।

‘मान्छे जोगाउनु नै सबैभन्दा ठूलो धर्म हो’ भन्दै प्रधानमन्त्री शाहले सरकारले नागरिकको सुरक्षा सुनिश्चित गर्ने, पीडितलाई न्याय दिलाउने र दोषीलाई कानुनअनुसार कारबाही गर्ने दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अन्त्यमा उनले सबैलाई प्रेम, सम्मान र सामाजिक सद्भावका साथ अघि बढ्न आह्वान गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १३, बुधबार ००:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP