मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा, पहिलो चरणमा अत्यावश्यक सवारीलाई मात्रै अनुमति

611
SHARES
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा, पहिलो चरणमा अत्यावश्यक सवारीलाई मात्रै अनुमति

काठमाडौं । नेपालकै बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोले संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरेका हुन् ।

सुरुङमार्ग सञ्चालनको प्रारम्भिक चरणमा एम्बुलेन्स, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवामा प्रयोग हुने सवारीसाधनलाई मात्रै आवतजावतको अनुमति दिइएको छ । आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार केही दिन सञ्चालन प्रणाली, सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरिनेछ । परीक्षण सफल भएपछि सबै प्रकारका योग्य सवारीसाधनलाई सञ्चालनको अनुमति प्रदान गरिनेछ ।

परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै पनि शुल्क नलिइने जनाइएको छ । नियमित सञ्चालन सुरु भएपछि भने तोकिएको दरअनुसार विद्युतीय प्रणालीमार्फत शुल्क संकलन गरिनेछ ।

सडक विभागले सार्वजनिक गरेको शुल्कअनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनीबस, ट्रक र टिपरले काठमाडौं आउँदा ११५ रुपैयाँ तथा बाहिरिँदा ८० रुपैयाँ शुल्क लाग्नेछ । ठूला बस र ट्रकका लागि काठमाडौं प्रवेश शुल्क २६० रुपैयाँ तथा बाहिरिने शुल्क २०० रुपैयाँ निर्धारण गरिएको छ ।

सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन तथा पेट्रोल, डिजेल, ग्यासजस्ता प्रज्ज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ । यस्तो व्यवस्था सुरुङभित्रको सुरक्षा जोखिमलाई न्यून गर्न गरिएको आयोजनाले जनाएको छ ।

कुल दुई हजार ६ सय ८८ मिटर लम्बाइ रहेको यस आयोजनामा मुख्य सुरुङसँगै उद्धारका लागि छुट्टै सुरुङ निर्माण गरिएको छ । मुख्य सुरुङबाट सवारीसाधन सञ्चालन हुनेछ भने आकस्मिक अवस्था वा उद्धार कार्यका लागि दोस्रो सुरुङ प्रयोग गरिनेछ । जापानको हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरेको यस सुरुङमार्गमा अत्याधुनिक सुरक्षा प्रणाली जडान गरिएको छ ।

आयोजनाका परामर्शदाता संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङभित्र सिसिटिभी निगरानी, दमकल सेवा, आकस्मिक उद्धार प्रणाली, सञ्चार सुविधा, भेन्टिलेसन तथा अक्सिजन आपूर्ति प्रणाली जडान गरिएको छ । सुरुङभित्र कुनै आकस्मिक अवस्था उत्पन्न भए तत्काल उद्धार गर्न आवश्यक सम्पूर्ण संयन्त्र तयारी अवस्थामा राखिएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु हुने सुरुङमार्ग धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलामा पुगेर जोडिन्छ । यसले हालको नागढुङ्गा सडकखण्डमा हुने लामो जाम, तीव्र उकालो र घुमाउरो सडकको विकल्प प्रदान गर्दै यात्राको समय करिब एक घण्टासम्म बचत गर्ने अपेक्षा गरिएको छ । यससँगै इन्धन खपत घट्ने र ढुवानी लागतमा समेत कमी आउने विश्वास गरिएको छ ।

सुरुङमार्ग निर्माणमा जापान सरकारको करिब २१ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको करिब ६ अर्ब रुपैयाँ लगानी रहेको छ । सुरुमा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोरोना महामारी, प्राविधिक चुनौती तथा अन्य कारणले आयोजना सम्पन्न हुन अपेक्षाभन्दा बढी समय लागेको थियो ।

यस आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सम्पन्न भएको थियो । अब सुरुङमार्ग पूर्ण क्षमतामा सञ्चालनमा आएपछि काठमाडौं भित्रिने र बाहिरिने यात्रु तथा ढुवानी क्षेत्रले आधुनिक, सुरक्षित र छिटो यातायात सेवाको प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ११, सोमबार ०६:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP