मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुनसरीको देवानगन्ज झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लाग्दा एक जनाको मृत्यु

1.1K
SHARES
सुनसरीको देवानगन्ज झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लाग्दा एक जनाको मृत्यु

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच भएको हिंसात्मक झडप नियन्त्रणका क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । घटनामा अन्य १० जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । उपचारका क्रममा आइतबार राति ११ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

प्रहरीका अनुसार दुई समूहबीच सुरु भएको सामान्य विवाद विस्तारै उग्र बन्दै झडप, तोडफोड र आगजनीसम्म पुगेपछि स्थिति नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको थियो । घटनामा घाइते भएका व्यक्तिहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल मेडिकल कलेजलगायतका अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेको परिचय अझै खुल्न बाँकी रहेको जनाइएको छ ।

स्थानीयका अनुसार साउने सोमबारको अवसरमा बोलबम यात्राका लागि युवाहरू डिजे बजाउँदै सप्तकोसी नदीतर्फ जाने तयारीमा थिए । त्यसक्रममा अर्को समूहले रातिको समयमा ठूलो आवाज र होहल्लाप्रति आपत्ति जनाएपछि दुई पक्षबीच भनाभन सुरु भएको थियो । साँझ करिब ९ः०० बजेदेखि सुरु भएको विवाद केही समयमै हिंसात्मक बनेको स्थानीयको भनाइ छ ।

घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली पुग्दा घर, मेडिकल पसल तथा सवारी साधनमा तोडफोड र आगजनी भइरहेको प्रहरीले जनाएको छ । अवस्था थप जटिल बनेपछि इनरुवामा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर स्थिति नियन्त्रणका लागि आवश्यक बल प्रयोग गर्ने निर्णय गरिएको थियो ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सम्भावित थप तनावलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण ११, सोमबार ००:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP