मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मेस्सीको अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम, अर्जेन्टिनाको जर्सीमा दुई दशकको स्वर्णिम अध्याय समाप्त

247
SHARES
मेस्सीको अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम, अर्जेन्टिनाको जर्सीमा दुई दशकको स्वर्णिम अध्याय समाप्त

 

काठमाडौं । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका छन् । दुई दशकभन्दा लामो समय अर्जेन्टिनाको जर्सीमा बिताएका मेस्सीले लामो सोचविचारपछि अब राष्ट्रिय टोलीबाट अलग हुने निर्णय गरेको बताएका हुन् ।

मेस्सीले सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै अर्जेन्टिनाका लागि आफूले सक्ने सबै दिएको उल्लेख गरेका छन् । टोलीले सफलता हासिल गर्नुअघि र ठूला उपाधि जित्दासमेत आफूले राष्ट्रिय टोलीप्रति निरन्तर समर्पण गरेको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘अब धेरै समय बाँकी छैन र केही अध्यायहरू बन्द हुँदैछन् । यो अध्यायले मलाई निकै पीडा दिएको छ । मैले राष्ट्रिय टोलीमा रहन मन पराएँ, मन पराइरहेँ र सधैं मन पराइरहनेछु । मैले आफूभित्र भएको सबैथोक दिएँ । अब मसँग दिनका लागि केही बाँकी छैन ।’

मेस्सीका अनुसार अर्जेन्टिनाको राष्ट्रिय टोलीमा नयाँ पुस्ताका प्रतिभाशाली खेलाडीहरू अघि आइरहेका छन् । उनीहरूलाई अवसर दिने समय आएको उनको भनाइ छ । अब मैदानमा खेलाडीका रूपमा नभई बाहिरबाट अर्जेन्टिनालाई समर्थन गर्ने उनले बताएका छन् ।

१७ वर्षको उमेरदेखि सुरु भएको यात्रा
मेस्सीले सन् २००४ जुन २९ मा पराग्वेविरुद्धको मैत्रीपूर्ण खेलबाट अर्जेन्टिनाको जर्सीमा पहिलोपटक पाइला राखेका थिए । त्यतिबेला उनी १७ वर्षका थिए र बार्सिलोनाको सिनियर टोलीबाट समेत डेब्यु गरिसकेका थिएनन् ।

स्पेनले उनलाई आफ्नो राष्ट्रिय टोलीमा समेट्ने सम्भावना बढिरहेका बेला अर्जेन्टिनी फुटबल संघले उनलाई आफ्नो देशका लागि खेलाउने प्रयास गरेको थियो । त्यसै क्रममा भएको खेलमा मेस्सीले गोल गरेका थिए र अर्जेन्टिनाको यू–२० टोलीले पराग्वेलाई ६–० ले हराएको थियो ।

त्यसपछि सुरु भएको मेस्सीको अन्तर्राष्ट्रिय यात्रा २० वर्षभन्दा बढी समयसम्म चल्यो ।

संघर्षबाट सफलताको शिखरसम्म
अर्जेन्टिनासँग मेस्सीको सुरुवाती यात्रा भने सहज थिएन । सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग पराजयदेखि २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग लगातार हारसम्म उनले ठूलो निराशा भोगे ।

विशेषगरी २०१६ को कोपा अमेरिका फाइनलपछि उनले राष्ट्रिय टोलीबाट संन्यास घोषणा गरेका थिए । पेनाल्टी सुटआउटमा चिलीसँग पराजित भएपछि भावुक बनेका मेस्सीले त्यतिबेला अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुने निर्णय गरेका थिए । तर केही समयपछि निर्णय फिर्ता लिँदै उनी पुनः अर्जेन्टिनाको जर्सीमा फर्किए ।

२०१८ विश्वकप छनोटमा इक्वेडरविरुद्धको निर्णायक खेलमा मेस्सीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकपमा पुर्‍याएका थिए । कठिन परिस्थितिमा उनको त्यो प्रदर्शन अर्जेन्टिनाका लागि निर्णायक बनेको थियो ।

पहिलो ठूलो उपाधिले बदलिएको कथा
वर्षौंको प्रतीक्षापछि मेस्सीले सन् २०२१ मा अर्जेन्टिनासँग पहिलो सिनियर अन्तर्राष्ट्रिय उपाधि जिते । कोपा अमेरिका फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराउँदै २८ वर्ष लामो उपाधिविहीन यात्रा समाप्त गरेको थियो ।

त्यो उपाधि मेस्सीका लागि व्यक्तिगत रूपमा पनि अत्यन्त महत्वपूर्ण थियो । फाइनल सकिएपछि उनी मैदानमै भावुक बनेका थिए । यही सफलताले अर्जेन्टिना र मेस्सीबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍यायो ।

त्यसपछि अर्जेन्टिनाले २०२२ मा विश्वकप र २०२४ मा कोपा अमेरिका जित्दै लगातार तीन ठूला उपाधि हात पार्‍यो । यस स्वर्णिम यात्राको केन्द्रमा मेस्सी थिए ।

कतारमा पूरा भएको विश्वकप सपना
डिसेम्बर १८, २०२२ मेस्सीको अन्तर्राष्ट्रिय करिअरको सबैभन्दा अविस्मरणीय दिन बन्यो । फ्रान्सविरुद्धको रोमाञ्चक फाइनलमा अर्जेन्टिनाले पेनाल्टी सुटआउटमार्फत जित निकाल्दै विश्वकप उपाधि उचाल्यो ।

मेस्सीले फाइनलमा दुई गोल गरेका थिए । पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी भएपछि उनले करिअरमा सबैभन्दा लामो समयदेखि पछ्याएको विश्वकप सपना पूरा गरे ।

कतार विश्वकपमा मेस्सी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । विश्वकप ट्रफी उचालेसँगै अर्जेन्टिनी फुटबलमा उनको स्थान झनै ऐतिहासिक बन्यो ।

आफ्नै भूमिमा अन्तिम विदाइ
२०२६ विश्वकप छनोटअन्तर्गत भेनेजुएलाविरुद्धको खेल मेस्सीका लागि अर्जेन्टिनाको भूमिमा अन्तिम प्रतिस्पर्धात्मक खेल बनेको थियो । ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा भएको उक्त खेलमा उनले दुई गोल गर्दै अर्जेन्टिनालाई ३–० को जित दिलाएका थिए ।

खेलअघि नै भावुक देखिएका मेस्सीले आफ्नै समर्थकमाझ यसरी बिदाइ लिन पाउनु आफ्नो सपना भएको बताएका थिए ।

अन्तिम अध्यायमा पनि आँसु
२०२६ विश्वकप फाइनलमा स्पेनसँग अर्जेन्टिना पराजित भएपछि मेस्सीको अन्तर्राष्ट्रिय यात्राको अन्तिम खेल पनि टुंगिएको छ । विश्वकप जित्न नसके पनि उनले अर्जेन्टिनासँग हासिल गर्नुपर्ने लगभग सबै उपलब्धि हासिल गरिसकेका थिए ।

उनले विश्वकप, कोपा अमेरिका र अन्य ठूला अन्तर्राष्ट्रिय उपाधि जित्दै आलोचनाबाट महानताको यात्रासम्म आफूलाई पुर्‍याए ।

मेस्सीले आफ्नो परिवार, प्रशिक्षक, सहकर्मी खेलाडी, टोलीका पदाधिकारी र समर्थकप्रति आभार व्यक्त गरेका छन् । राष्ट्रिय टोलीसँग बिताएका दुई दशकभन्दा बढी समयलाई जीवनकै अमूल्य सम्झनाका रूपमा लिएर जाने उनले बताएका छन् ।

‘म शान्ति र गर्वका साथ जाँदैछु । आफ्ना सहकर्मीहरूसँग मिलेर तपाईंहरूलाई सपनाजस्ता क्षणहरू दिन सकेँ । यो सबै तपाईंसँगै अनुभव गर्नु पागलपनजस्तै थियो । म तपाईंहरूलाई माया गर्छु,’ उनले लेखेका छन् ।

यससँगै अर्जेन्टिनाको जर्सीमा मेस्सीको ऐतिहासिक यात्रा औपचारिक रूपमा समाप्त भएको छ । संघर्ष, असफलता, आँसु, आलोचना र अन्ततः विश्वकपको सुनौलो ट्रफीसम्म पुगेको उनको यात्रा अब अन्तर्राष्ट्रिय फुटबलको इतिहासकै सबैभन्दा स्मरणीय अध्यायमध्ये एक बनेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र १६, मंगलवार ०८:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP