मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चक्रवात ‘अर्नब’को प्रभाव आज बढी, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

260
SHARES
चक्रवात ‘अर्नब’को प्रभाव आज बढी, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले आज (शुक्रबार) नेपालका अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । चक्रवात कमजोर भइसके पनि त्यसबाट विकसित न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा, हिमपात तथा हावाहुरी हुन सक्ने पूर्वानुमान गरिएको छ ।

बिहीबार कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको थियो भने काठमाडौं उपत्यकामा पनि छिटफुट पानी परेको थियो । आज भने वर्षाको मात्रा बढ्नुका साथै प्रभाव क्षेत्रसमेत विस्तार हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।

नेपाल मौसम विज्ञान विभागका अनुसार आज दिउँसोदेखि रातिसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ । विशेषगरी कोशी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली तथा पहाडी क्षेत्रमा हिमपात हुन सक्ने विभागले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका अनुसार चक्रवातको प्रभावले शुक्रबार अपराह्नदेखि रातिसम्म वर्षा अझ तीव्र हुन सक्छ । शनिबारदेखि भने यसको प्रभाव क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ ।

पाँच प्रदेशमा वर्षा, हिमाली क्षेत्रमा हिमपातको जोखिम
मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद्का अनुसार कात्तिक १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

वर्षा र हिमपातका कारण तापक्रम घट्दा चिसोसमेत बढ्न सक्नेछ । पहिरोको जोखिम रहेका क्षेत्र तथा सडक आसपासका बस्तीमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले यात्रामा निस्कनुअघि मौसमको अवस्था बुझ्न पनि सुझाव दिइएको छ ।

विपद् जोखिमलाई ध्यानमा राख्दै सरकार सतर्क
चक्रवात ‘अर्नब’को प्रभाव हिमालदेखि तराईसम्म पर्न सक्ने आँकलन गर्दै सरकारले सुरक्षा निकाय तथा सम्बन्धित सरकारी संयन्त्रलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ । विशेषगरी उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले आवश्यक पूर्वतयारीमा जोड दिइएको छ ।

विपद् प्रतिकार्य कमाण्ड पोष्टको बिहीबार बसेको बैठकले जोखिमयुक्त जिल्लाको अवस्थाबारे निरन्तर जानकारी लिन, सर्वसाधारणलाई समयमै सूचना प्रवाह गर्न तथा आवश्यक परे तत्काल उद्धार र प्रतिकार्यमा खटिन सक्ने गरी तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गर्दै हावाहुरी, चट्याङ, हिमआँधी र भारी वर्षाको सम्भावनालाई ध्यानमा राखेर सावधानी अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले देशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा तत्कालका लागि पर्वतारोहण र पदयात्रा नगर्न सुझाव दिएको छ । पदयात्रामा गइसकेका व्यक्तिलाई सुरक्षित स्थानमा बस्न र मौसम अनुकूल नभएसम्म जोखिमपूर्ण यात्रा नगर्न भनिएको छ । किसानलाई पनि कात्तिक १४ गतेसम्म धान नकाट्न सुझाव दिइएको छ ।

भारतको तटीय क्षेत्रबाट प्रवेश गरेको थियो चक्रवात
मौसम विज्ञान विभागका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान करिब ८ः१५ बजे भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्र हुँदै जमिनमा प्रवेश गरेको थियो । त्यसपछि यो उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै क्रमशः कमजोर बनेर गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको हो ।

उक्त प्रणालीको प्रभावका कारण बिहीबारदेखि नै नेपालका अधिकांश क्षेत्रमा बादल लाग्न थालेको थियो । यसको प्रभावले देशका विभिन्न भूभागमा वर्षा, हिमपात तथा हावाहुरीको सम्भावना कायम रहेको विभागले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ कार्तिक १४, शुक्रबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP