मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सिन्धुलीमा रहस्यमय घटनाः जंगलभित्रको घरबाट एकै परिवारका १६ जना बेपत्ता

1.9K
SHARES
सिन्धुलीमा रहस्यमय घटनाः जंगलभित्रको घरबाट एकै परिवारका १६ जना बेपत्ता

सिन्धुली । सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एक अचम्मको घटना सार्वजनिक भएको छ । उर्मिला हायुको नेतृत्वमा रहेको एकै परिवारका १६ जना सदस्य अचानक सम्पर्कविहीन बनेका छन् ।

गोलाञ्जोर गाउँपालिका–६ का वडाध्यक्ष रविन श्रेष्ठका अनुसार, आइतबार रातिदेखि हायु परिवारका सबै सदस्य लापत्ता छन् । सोमबार बिहान छिमेकीहरूले उनीहरूलाई नदेखेपछि शंका उत्पन्न भएको थियो । त्यसपछि प्रहरीलाई खबर गरिएको हो ।

प्रहरी परिचालन, अनुसन्धान सुरु
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार, प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ र खोजी तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । सुवेदीले बताएअनुसार घरको केही भागमा सामान्य तोडफोड देखिएको छ, तर हिंसात्मक संघर्षको स्पष्ट संकेत भने छैन ।

घरमा पालेका बाख्रा, कुखुरा र भैंसीहरू गाईगोठ नजिकै अलपत्र अवस्थामा फेला परेका छन् । मानिसहरू भने घरभित्र कतै पनि भेटिएका छैनन् ।

भान्साघरमा लागेको थियो आगो
वडाध्यक्ष श्रेष्ठका अनुसार, घरभन्दा केही टाढा रहेको भान्साघर (छाप्रो) मा आगलागी भएको देखिएको छ । आगलागी कसरी भयो भन्नेबारे यकिन जानकारी छैन, तर घटनालाई थप रहस्यमय बनाएको छ ।

जंगलभित्रको एकान्त बासस्थान
श्रेष्ठका अनुसार हायु परिवारको घर जंगलको बीचमा एकान्तमा रहेको हुँदा छिमेकी त्यहाँ पुग्न करिब २० मिनेट पैदल हिंड्नुपर्ने हुन्छ । परिवारमा उर्मिला हायु, उनका छोराछोरी, बुहारी, ज्वाइँ र नातिनातिनीहरू रहेका थिए ।

सरकारी सहायता लिने हायु समुदाय
गोलाञ्जोर गाउँपालिका अध्यक्ष बुद्धिनारायण बरालका अनुसार बेपत्ता भएकाहरूले हालै सामाजिक सुरक्षा भत्ता बुझेर पालिकाबाट फर्किएको सूचना प्राप्त छ । लोपोन्मुख सूचीमा परेको हायु समुदायलाई सरकारले विशेष सामाजिक सुरक्षा सहायता उपलब्ध गराउँदै आएको छ ।

प्रहरी, स्थानीय र जनप्रतिनिधि घटनास्थलमा
हाल घटनास्थलमा प्रहरी, स्थानीय प्रतिनिधि र छिमेकीहरू पुगेर अवस्था अवलोकन गरिरहेका छन् । तर प्रहरी अनुसन्धान जारी रहेकाले यतिखेर ठोस निष्कर्ष निकाल्न नसकिने प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १२, सोमबार ०९:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP