मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

साफ महिला यु–२० च्याम्पियनसिपः उपाधिका लागि निर्णायक भिडन्तमा नेपाल र बङ्गलादेश

2.5K
SHARES
साफ महिला यु–२० च्याम्पियनसिपः उपाधिका लागि निर्णायक भिडन्तमा नेपाल र बङ्गलादेश

काठमाडौं । साफ महिला यु–२० फुटबल च्याम्पियनसिपको उपाधिका लागि नेपाल र आयोजक टिम बङ्गलादेशबीच आज साँझ निर्णायक भिडन्त हुन गइरहेको छ । डबल लिग चरणमा प्रतिस्पर्धा भइरहेको प्रतियोगितामा आजको अन्तिम खेलले च्याम्पियन टिम टुंगो लगाउनेछ ।

ढाकास्थित बसुन्धरा मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे सुरु हुनेछ । प्रतियोगितामा सर्वाधिक ३० गोल गरिसकेको नेपालले लिग चरणमै बङ्गलादेशसँगको पराजयको बदला लिने तयारीमा छ ।

चार टिम सहभागी यस प्रतियोगितामा फाइनल खेलको छुट्टै व्यवस्था छैन । लिगका आधारमा सबै टिमले एक–अर्कासँग दुईपटक प्रतिस्पर्धा गरेका छन् र लिगको अन्त्यमा सबैभन्दा बढी अंक हासिल गर्ने टिमलाई विजेता घोषणा गरिनेछ । हालसम्मको स्थितिमा उपाधि होडमा नेपाल र बङ्गलादेश मात्र बाँकी रहेका छन् ।

बङ्गलादेशले पाँचै खेलमा जित निकाल्दै १५ अंक जोडेको छ भने नेपालले चार खेलमा १२ अंक बटुलेको छ । यसैले, नेपाललाई उपाधि जित्न आजको खेल अनिवार्य जित्नै पर्नेछ ।

नेपालले यसअघि भुटानलाई ६–१ र ८–० तथा श्रीलङ्कालाई दुईपटक ७–० को फराकिलो अन्तरले पराजित गरिसकेको छ । बङ्गलादेशसँगको पहिलो खेलमा भने अन्तिम सेकेन्डमा गोल खाँदै ३–२ को हार बेहोरेको थियो ।

नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले पहिलो खेलमा भएका गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउँदै आक्रामक रणनीतिसहित मैदान उत्रने बताएका छन् । कप्तान बिर्सना चौधरी पनि प्रतिस्पर्धात्मक खेल हुने विश्वास व्यक्त गर्दै भनिन्, ‘हाम्रो लक्ष्य स्पष्ट छ— च्याम्पियन बन्ने । यदि हामी टिमवर्कमा खेल्यौँ भने उपाधि जित्न सक्छौँ ।’

फरवार्ड लाइनमा नेपाल बलियो देखिएको छ । पूर्णिमा राईले १० गोल गर्दै प्रतियोगिताकै टप स्कोरर बनेकी छन् भने मीना देउवाले ७ गोलसहित दोस्रो स्थानमा छिन् । यी दुवै खेलाडीले दुई–दुई पटक ह्याट्रिक गरिसकेका छन् ।

समीक्षा मगर र कुसुम खतिवडाले तीन–तीन गोल गर्दा सेनु परियार र सरिता कुमारीले दुई–दुई गोल गरेका छन् । कप्तान बिर्सना चौधरी र अनिशा राईले पनि टोलीका लागि स्कोर गरिसकेका छन् ।

बङ्गलादेशको पक्षमा पनि केही उत्कृष्ट प्रदर्शनहरू देखिएका छन् । सागोरिका, शान्ति मार्डी र तृष्णारानी प्रत्येकले चार–चार गोल गर्दै टोलीलाई बलियो बनाएका छन् ।

आजको खेल लिगको ‘अघोषित फाइनल’ बन्न पुगेको छ, जसको नतिजाले उपाधि विजेता तय गर्नेछ । नेपालले गोल संख्या र आक्रामकता दुवैमा पकड बनाए पनि घरेलु मैदानको फाइदा बङ्गलादेशसँग हुनेछ । अब हेर्न बाँकी छ— उपाधि कसको पोल्टामा पर्छ ?



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ५, सोमबार ०४:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP