मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उधौली पर्व: प्रकृति, पितृ र पहिचानको सामूहिक उत्सव

1.8K
SHARES
उधौली पर्व: प्रकृति, पितृ र पहिचानको सामूहिक उत्सव

काठमान्डु । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा भोलि किरात समुदायले पितृप्रति कृतज्ञता र प्रकृतिप्रति सम्मान व्यक्त गर्ने महत्त्वपूर्ण पर्व उधौली भव्य रूपमा मनाउँदै छन् । हिमालदेखि मध्यपहाडी गाउँ—सहरसम्म किराती समुदाय परम्परागत पहिरन, सांस्कृतिक धुन र सामूहिक पूजाआजासहित भोलिको दिनलाई विशेष बनाउँदैछन् ।

किरातभित्रका विभिन्न जातजातिले आफ्नो परम्परा र भाषाअनुरूप यो पर्वलाई फरक नामले पुकारे पनि यसको मूल आत्मा समान छ— अन्नबाली पाकेपछि कुलदेवता र पितृप्रति कृतज्ञता व्यक्त गर्ने चाड । सुनुवार समुदायले फोलस्यादर, याक्खाले चासुवा, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाए पनि समग्रमा सबैले यसलाई उधौलीकै रूपमा स्वीकार्छन् ।

अन्नबाली, प्रकृति र कृतज्ञताको दर्शन

किरात संस्कृतिमा प्रकृति जीवनको आधार मानिन्छ । खेतबारीमा लगाइएको अन्नबाली पाकेपछि भूमिसँग अनुमति माग्ने, कुलदेवतालाई चढाउने र पितृ आत्मालाई सम्झने संस्कारसँग उधौली गहिरोसँग जोडिएको छ । उभौली—उधौलीको चक्रलाई किरातहरूले आफ्नो पर्यावरणमैत्री जीवनशैलीको भाग मान्दै आएका छन् ।

गर्मी बढ्दै जाँदा लेकतिर, जाडो लाग्दै जाँदा तल्लो भूभाग तिर सर्ने प्रवृत्ति नै उभौली–उधौलीको सांस्कृतिक विज्ञान हो ।

धार्मिकस्थलमा भीड, पहिरन र सांस्कृतिक रौनक

भोलि बिहानैदेखि विभिन्न स्थानमा भूमिपूजा गरेर महिलादेखि पुरुषसम्म सबै जातीय पहिरनमा सजिन्छन् । ढोल–झ्याम्टा बजाउँदै साकेला सिली, च्याब्रुङ नृत्य जस्ता सांस्कृतिक नृत्यका माध्यमबाट सामूहिक उत्सवको माहोल बनाइन्छ ।

ललितपुरको सानो हात्तीवन र काठमाडौंको गोकर्णेश्वर क्षेत्रमा भोलि विशेष रूपमा भीड लाग्ने गर्दछ । किरातकालदेखि पूजास्थल मानिने हात्तीवनमा विगत वर्षझैँ यसपालि पनि सामूहिक पूजा, प्रसाद, नाचगान र सांस्कृतिक सभाहरु आयोजना हुनेछन् ।

परम्परा र आधुनिकताबीचको सन्तुलन

आजको पुस्ताले उधौलीलाई केवल धार्मिक चाडका रूपमा मात्र नभई पहिचान र अस्तित्वसँग जोडिएको सांस्कृतिक उत्सवका रूपमा पनि लिन थालेका छन् । शहरी क्षेत्रमा बसोबास गर्ने युवापुस्ताले सामाजिक सञ्जालमार्फत साकेला सिली र च्याब्रुङ नृत्यलाई विश्वभर प्रचार–प्रसार गरिरहेका छन् ।

सांस्कृतिक अनुसन्धानकर्ताहरूका अनुसार यस्तो प्रवृत्तिले किरात संस्कृतिको संरक्षण र निरन्तरतामा ठूलो योगदान गरेको छ।

उधौलीको सार
वैशाख शुक्ल पूर्णिमामा उभौली पूजा गरी ‘उकालो’ लाग्ने किरात समुदायले उधौलीमा भने भूमिपूजा गरेर ‘ओरालो’ लाग्छन् । यसलाई प्रकृति अनुसार जीवनशैली समायोजन गर्ने पर्यावरण–अनुकूल सांस्कृतिक चक्र मानिन्छ ।

उभौलीमा खेतीबाली राम्रो होस् भनेर प्रार्थना गरिन्छ भने उधौलीमा त्यस वर्षको मेहनत र फलप्रति भूमेसँग कृतज्ञता व्यक्त गरिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर १७, बुधबार १३:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP