मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न नेकपाको निर्देशन, सात दिनभित्र प्रतिवेदन माग

507
SHARES
प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न नेकपाको निर्देशन, सात दिनभित्र प्रतिवेदन माग

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समग्र समीक्षा गर्न नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले मातहतका समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाले ‘निर्वाचन विशेष निर्देशन–३’ जारी गर्दै प्रत्येक निर्वाचन क्षेत्रअन्तर्गत गठित निर्वाचन परिचालन समितिलाई विस्तृत प्रतिवेदन पठाउन भनेको हो ।

निर्देशनमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको हस्ताक्षर रहेको छ । निर्देशनपत्रमा निर्वाचन अवधिभर भएका गतिविधिको तथ्यगत अध्ययन गरी एक हप्ताभित्र केन्द्रीय कार्यालयमा प्रतिवेदन पठाउन भनिएको छ । साथै निर्वाचन परिणामको विश्लेषण गर्दै पार्टीले असामान्य राजनीतिक परिस्थिति र विभिन्न षड्यन्त्रका बीच सम्पन्न निर्वाचनले लोकतन्त्रलाई पुनः सही दिशामा ल्याउने संकेत गरेको निष्कर्ष निकालेको उल्लेख गरिएको छ ।

पार्टी नेतृत्वले मतदाताको अभिमतलाई सम्मान गर्दै अब संसद्मा जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ । उक्त निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ आठ सिट र समानुपातिकतर्फ नौ सिट प्राप्त गरेको जानकारी दिँदै विजयी उम्मेदवार, खटिएका नेता–कार्यकर्ता तथा मतदाताप्रति आभार व्यक्त गरिएको छ ।

अपेक्षाअनुसार परिणाम नआउनुका कारणबारे पनि निर्देशनपत्रमा चर्चा गरिएको छ । पार्टी एकीकरण प्रक्रिया पूर्ण रूपमा टुंगिन नसक्दै निर्वाचनमा होमिनुपरेको, नयाँ चुनाव चिह्न र नीति जनतामाझ स्थापित गर्न पर्याप्त समय नपुगेको तथा भदौ २३ र २४ गतेको घटनापछि सिर्जिएको राजनीतिक अन्योलका कारण परिस्थिति अनुकूल बन्न नसकेको पार्टीको बुझाइ छ ।

त्यसैगरी केही मिडियामा फैलाइएको नकारात्मक प्रचारलाई प्रभावकारी रूपमा प्रतिवाद गर्न समय अभाव भएको पनि पार्टीले स्वीकार गरेको छ ।

यसै सन्दर्भमा पार्टीले निर्वाचन परिचालन समितिको गठन, नेता–कार्यकर्ताको जिम्मेवारी बाँडफाँट, प्रचार अभियानको योजना, आर्थिक परिचालन, प्रचार सामग्री वितरण तथा डिजिटल मिडिया र सामाजिक सञ्जालको प्रयोगबारे तथ्यसहित विश्लेषण गर्न निर्देशन दिएको छ ।

यस्तै बुथ समिति निर्माण, स्वयंसेवक परिचालन, उम्मेदवारको प्रभाव, प्रतिस्पर्धी दलका गतिविधि, प्रमुख दलहरूको मतस्थिति, निर्वाचनमा देखिएका चुनौती र पार्टीका सबल तथा कमजोर पक्षबारे सुझावसहितको यथार्थ प्रतिवेदन सात दिनभित्र बुझाउन मातहतका समितिलाई भनिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २९, शुक्रबार ०५:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP