मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भदौ १८ बाट आईजीपी थापा अवकाश हुँदै, खापुङ एकल दाबेदारका रूपमा अगाडि

2.5K
SHARES
भदौ १८ बाट आईजीपी थापा अवकाश हुँदै, खापुङ एकल दाबेदारका रूपमा अगाडि

काठमाडौं । हालका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा यसै भदौ १८ गते अनिवार्य अवकाशमा जाने भएपछि ३२औँ आईजीपीको आकांक्षी कसलाई बनाइने भन्ने विषयमा बहस सुरु भएको छ । हालसम्म प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ एकल दाबेदारका रूपमा अगाडि देखिएका छन् ।

थापाले ३० वर्षे सेवा अवधि पूरा गरेसँगै आगामी भदौ १८ बाट अवकाश लिँदै छन् । उनले २०५२ साल भदौ १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए भने २०८१ चैत ४ मा ३१औँ प्रहरी प्रमुखको रूपमा नियुक्त भएका थिए ।

यसअघि संसद्मा छलफलरत नयाँ प्रहरी ऐन पास भएको भए थापाको कार्यकाल कम्तीमा ६ महिना थप हुने सम्भावना थियो । तर राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको कुलिङ पिरियडसम्बन्धी विवाद उत्पन्न भएपछि उक्त विधेयकको प्रक्रिया रोकिएको छ ।

अवकाश समय नजिकिँदै गर्दा नयाँ आईजीपीका आकांक्षीका रूपमा खापुङ सिंहदरबारदेखि भद्रकालीसम्म चर्चाको केन्द्रमा आउन थालेका छन् । उनले २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षक पदमा नियुक्ति लिएका थिए । सोही ब्याचका वसन्त कुँवर र दीपक थापा पहिले नै आईजीपी भइसकेका छन् भने खापुङ तेस्रो लटबाट उनीहरूसँगै भर्ना भएका अफिसर हुन् ।

खापुङले प्रहरी प्रशासन शाखादेखि अनुसन्धानसम्मका विभिन्न जिम्मेवारी सम्हालेका छन् । एसपी हुँदा प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा बसेर उनी व्यवस्थापन क्षमतामा अब्बल ठहरिएका थिए । एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको कमान्ड गर्दै उनले ठूला अपराधहरूमाथि कडा निगरानी राखेका थिए । पछि डिआइजीको रूपमा उनले कोशी प्रदेशको कमान्ड सम्हाले ।

यस वर्ष वैशाख १६ मा उनी एआईजीमा बढुवा भएका थिए । एआईजीमा बढुवा भएका ६ जनामध्ये खापुङ मेरिट लिस्टको पहिलो नम्बरमा परेका थिए । उनीसँगै बढुवा भएका दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसी पछिल्लो ब्याचका भएकाले आईजीपी दौडमा छैनन् ।

एआईजी लालमणि आचार्य उमेरहदका कारण जेठ १० मै अवकाश भइसकेका छन् भने एआईजी कृष्णहरि शर्मा पोखरेल भदौ १५ मा सेवा निवृत्त हुँदैछन् । यस्तो अवस्थामा खापुङ ३२औँ आईजीपीका लागि हालसम्मका एकल प्रतिस्पर्धीका रूपमा उभिएका छन् ।

आईजीपी थापाको अवकाशसँगै रिक्त हुँदै गरेको सर्वोच्च प्रहरी पदमा चन्द्रकुवेर खापुङकै नाम सर्वाधिक अगाडि आएको छ । अब गृह मन्त्रालयले सिफारिस गर्ने नाम र मन्त्रिपरिषद्ले लिने निर्णयले नेपाल प्रहरीको नयाँ नेतृत्व तय गर्नेछ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३, मंगलवार ०६:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP