मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा चुनाव: समानुपातिक मतगणना सकियो, रास्वपा दुईतिहाइ बहुमतबाट दुई सिट टाढा

871
SHARES
प्रतिनिधिसभा चुनाव: समानुपातिक मतगणना सकियो, रास्वपा दुईतिहाइ बहुमतबाट दुई सिट टाढा

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना बुधबार दिउँसो सकिएको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट विवरणअनुसार देशभरबाट कुल १ करोड ७ लाख ८९ हजार ७८ मत गणना भएको छ ।

समानुपातिकतर्फ सबैभन्दा धेरै मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको छ । रास्वपाले ५१ लाख ५८ हजार ८१० मत (४७.८२ प्रतिशत) ल्याउँदै अन्य दललाई निकै पछाडि पारेको छ ।

प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाउने लगभग निश्चित भएको छ । यसरी कुल १८२ सिट पुग्ने अनुमान गरिएको छ, जुन दुईतिहाइ बहुमतका लागि आवश्यक १८४ सिटभन्दा दुई सिट कम हो । यद्यपि निर्वाचन आयोगले अन्तिम रूपमा सिट बाँडफाँट गर्दा केही संख्या परिवर्तन हुन सक्ने सम्भावना छ ।

अन्य दलहरूको अवस्था
नेपाली कांग्रेसले समानुपातिकतर्फ १७ लाख ५६ हजार ४३ मत (१६.२८ प्रतिशत) प्राप्त गरेको छ । प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले समानुपातिकबाट २० सिट थप्दा कुल ३८ सिट सहित दोस्रो ठूलो दल बन्ने देखिएको छ ।

त्यसैगरी नेकपा एमालेले १४ लाख ५२ हजार ९३९ मत (१३.४७ प्रतिशत) प्राप्त गरेको छ । प्रत्यक्षतर्फ ९ सिट जितेको एमालेले समानुपातिकमा १६ सिट थपेर कुल २५ सिट पाउने अनुमान छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ८ लाख ९ हजार ६४१ मत (७.५ प्रतिशत) ल्याएको छ । प्रत्यक्षमा ७ सिट जितेको उक्त दलले समानुपातिकबाट ९ सिट थप्दै कुल १६ सिट पाउने सम्भावना छ ।

पहिलोपटक चुनाव लडेको श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ७४८ मत (३.५८ प्रतिशत) प्राप्त गर्दै राष्ट्रिय दलको मान्यता पाएको छ । उसले प्रत्यक्षमा ३ र समानुपातिकमा ४ गरी कुल ७ सिट पाउने देखिएको छ ।

उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख ३० हजार २८१ मत (३.०६ प्रतिशत) ल्याउँदै कठिन रूपमा थ्रेसहोल्ड पार गरेको छ । प्रत्यक्षमा १ सिट जितेको राप्रपाले समानुपातिकमा ४ सिट थपेर कुल ५ सिट पाउने अनुमान गरिएको छ । अघिल्लो चुनावमा १४ सिट जितेको राप्रपा यसपटक भने निकै खुम्चिएको छ ।

संसद्को अनुमानित सिट अवस्था
प्रत्यक्ष र समानुपातिक सिट जोड्दा प्रतिनिधिसभामा दलहरूको अनुमानित स्थिति यस्तो देखिन्छः

  • राष्ट्रिय स्वतन्त्र पार्टी — १८२ सिट
  • नेपाली कांग्रेस — ३८ सिट
  • नेकपा एमाले — २५ सिट
  • नेकपा — १६ सिट
  • श्रम संस्कृति पार्टी — ७ सिट
  • राष्ट्रिय प्रजातन्त्र पार्टी — ५ सिट
  • स्वतन्त्र — १ सिट

प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ सिट आवश्यक पर्छ भने दुईतिहाइ बहुमतका लागि १८४ सिट चाहिन्छ । हालको अनुमानअनुसार रास्वपा दुईतिहाइ बहुमतबाट दुई सिट टाढा रहेको छ ।

दुईतिहाइको सम्भावना अझै खुला
म्याग्दीबाट निर्वाचित महावीर पुन रास्वपासँग जोडिए सिट संख्या १८३ पुग्नेछ । तर उनले आफू स्वतन्त्र नै रहने बताएका छन् ।

त्यसैगरी धनुषा–१ मा रास्वपाका उम्मेदवार किशोरी साह कमल को उम्मेदवारी खारेज भएपछि आयोगले नेकपाका मातृका यादव लाई प्रमाणपत्र दिएको छ । तर उक्त निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतले फागुन २९ गते फैसला सुनाउने भएको छ । यदि अदालतले आयोगको निर्णय उल्ट्याए रास्वपाले दुईतिहाइ बहुमत हासिल गर्ने सम्भावना रहनेछ ।

अघिल्लो चुनावका केही दल शून्यमा
२०७९ सालको निर्वाचनमा सिट जितेका केही दलहरू यसपटक भने संसद्बाट बाहिरिएका छन् । बाहिरिनेमा जसपा (१२ सिट), जनमत पार्टी (६ सिट), नागरिक उन्मुक्ति पार्टी (४ सिट), नेकपा एकीकृत समाजवादी (१० सिट), लोसपा (४ सिट), नेमकिपा (१ सिट) र राष्ट्रिय जनमोर्चा (१ सिट) रहेका छन् । यी सबै दलहरू यसपटक सिटविहीन भएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २७, बुधबार १२:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP