मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा चुनावअघि आदिवासी जनजातिको १० बुँदे अडान सार्वजनिक, प्रतिबद्धता नजनाउनेलाई मत नदिने चेतावनी

1K
SHARES
प्रतिनिधिसभा चुनावअघि आदिवासी जनजातिको १० बुँदे अडान सार्वजनिक, प्रतिबद्धता नजनाउनेलाई मत नदिने चेतावनी

काठमाडौं । यहि फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘इन्डिजिनियस पिपुल्स कलेक्टिभ इनिसिएटिभ्स’ले आदिवासी जनजाति समुदायको साझा धारणा र अडान पत्र सार्वजनिक गरेको छ ।

सार्वजनिक अडान पत्रमा विभिन्न आदिवासी समुदायसँग सम्बद्ध एक सयभन्दा बढी अधिकारकर्मी तथा बुद्धिजीवीहरूको हस्ताक्षर रहेको जनाइएको छ । दस्तावेजमा संविधान संशोधनमार्फत नेपाललाई ‘बहुराष्ट्रिय राज्य’का रूपमा परिभाषित गर्नुपर्ने र आदिवासी जनजातिको सामूहिक अधिकार सुनिश्चित गर्नुपर्ने प्रमुख माग राखिएको छ ।

अडान पत्रमा पहिचान र सामर्थ्यका आधारमा प्रदेशहरूको पुनः सीमाङ्कन गर्दै १०ं१ प्रदेश संरचना निर्माण गर्नुपर्ने उल्लेख छ । हाल कायम सात प्रदेशको संरचनाले आदिवासीहरूको पहिचान कमजोर बनाएको दाबी गरिएको छ ।

त्यस्तै, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न तथा स्थानीय तहको निर्वाचन दलविहीन बनाउनुपर्ने माग पनि अघि सारिएको छ । संविधानको धारा ५६ अनुसार स्वायत्त, संरक्षित र विशेष क्षेत्रहरूको सीमाङ्कन र संख्या तत्काल निर्धारण गर्नुपर्ने उल्लेख गरिएको छ ।

भाषिक अधिकारतर्फ आदिवासी मातृभाषाहरूलाई सरकारी कामकाजको भाषाको हैसियत दिनुपर्ने र आधारभूतदेखि उच्च शिक्षासम्म मातृभाषालाई शिक्षाको माध्यमका रूपमा लागू गर्नुपर्ने माग राखिएको छ । जल, जमिन र प्राकृतिक स्रोतमाथि आदिवासीहरूको अग्राधिकार सुनिश्चित गर्दै कुनै पनि विकास आयोजना अघि बढाउँदा ‘स्वतन्त्र, अग्रिम र जानकारीसहितको मञ्जुरी’ (FPIC) अनिवार्य गर्नुपर्ने अडान पत्रमा समेटिएको छ ।

साथै धर्मनिरपेक्षताको मर्मसँग असंगत ऐन, कानुन र राष्ट्रिय प्रतीकहरू संशोधन गरी देशको सांस्कृतिक तथा धार्मिक विविधतालाई सम्मान गर्नुपर्ने माग गरिएको छ ।

आदिवासी जनजातिका यी मुद्दामा स्पष्ट प्रतिबद्धता नजनाउने राजनीतिक दल र उम्मेदवारलाई मत नदिने घोषणा समेत अडान पत्रमार्फत गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन ८, शुक्रबार ०५:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP