मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एमाले महाधिवेशनः प्रतिनिधि अद्यावधिक अन्तिम चरणमा, २५ गतेभित्र परिचयपत्र छपाइ सकिने

1.7K
SHARES
एमाले महाधिवेशनः प्रतिनिधि अद्यावधिक अन्तिम चरणमा, २५ गतेभित्र परिचयपत्र छपाइ सकिने

काठमान्डु । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अद्यावधिक गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको टोली निरन्तर रूपमा प्रतिनिधि विवरण अद्यावधिकमा जुटिरहेको विभागले जनाएको छ ।

संगठन विभागका प्रमुख अधिकारीका अनुसार महाधिवेशनका लागि २ हजार १ सय ५४ जना प्रतिनिधि विभिन्न तहबाट निर्वाचित भइसकेका छन् । साथै १ सय ८ जना प्रतिनिधि केन्द्रबाट मनोनयन गरिने भएकाले कुल प्रतिनिधि संख्या २ हजार २ सय ६२ पुग्नेछ ।

‘घरफर्क अभियान’मार्फत आएका तीन व्यक्तिले पनि प्रतिनिधि बन्न निवेदन दिएको र उनीहरूको विषयमा अन्तिम निर्णय पार्टी सचिवालयले गर्ने विभागले जनाएको छ ।

धनकुटा र ओखलढुंगामा देखिएको प्रतिनिधि छनौटसम्बन्धी विवाद समाधान भइसकेको अधिकारीले जानकारी दिए । दुवै जिल्ला पार्टीको अन्तरपार्टी निर्देशन–१३ अनुसार मापदण्ड नपुगेको भन्दै केन्द्रले पुनः छनौट गर्न निर्देशन दिएको थियो । पुनः प्रक्रियाबाट दुवै जिल्लामा सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन् ।

यसबाहेक तीन जिल्लामा परेको उजुरी निराकरणको कार्य जारी छ । निर्वाचित रहे तापनि मापदण्ड नपुगेको भन्ने गुनासोका आधारमा पनि छानबिन भइरहेको संगठन विभागले स्पष्ट पारेको छ । मापदण्ड नपुगेका प्रतिनिधिहरूका कार्ड नबनाउने तयारी भइरहेको अधिकारीले बताए ।

“हामीले ७० प्रतिशतभन्दा बढी प्रतिनिधिहरूको भेरिफिकेसन गरिसकेका छौँ,” उनले भने ।

महाधिवेशनका बन्द सत्र हलमा अतिरिक्त ३ सय ५१ जना सल्लाहकार परिषद्का सदस्य सहभागी हुन पाउनेछन् । परिषद्को कुल संख्या ३ सय ७६ भए पनि २५ जना प्रतिनिधि निर्वाचित भएकाले बाँकी सदस्यलाई सहभागी सूचीमा राखिएको हो । यसरी प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा कुल २ हजार ६ सय १३ जना सहभागी हुनेछन् ।

प्रतिनिधिका परिचयपत्र छपाइको काम पनि तीव्र गतिमा भइरहेको केन्द्रीय कार्यालयले जानकारी दिएको छ । हालसम्म ७० प्रतिशत कार्ड छपाइ भइसकेको र आगामी २५ गतेभित्र सबै कार्ड छपाइ तथा अद्यावधिक प्रक्रिया पूरा हुने कार्यालयले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ मंसिर २३, मंगलवार ०५:१९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP