मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सर्लाही–४ मा अमरेशको जित, गगन थापाको १८ वर्षे संसदीय यात्रामा ब्रेक

949
SHARES
सर्लाही–४ मा अमरेशको जित, गगन थापाको १८ वर्षे संसदीय यात्रामा ब्रेक

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ मा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई पराजित गरेका छन् । आइतबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार सिंहले थापालाई १२ हजार ८५७ मतान्तरले हराएका हुन् ।

निर्वाचन परिणाम अनुसार अमरेश कुमार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दा गगन थापाले २२ हजार ८३१ मत ल्याएका छन् । यस पराजयसँगै थापाको २०६४ सालदेखि सुरु भएको संसदीय यात्रा पहिलोपटक अवरुद्ध भएको छ ।

गगन थापा पहिलोपटक २०६४ सालको संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेका थिए । त्यसपछि उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट लगातार तीन पटक निर्वाचन जितेका थिए । हालै सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनबाट उनी पार्टीको सभापतिमा निर्वाचित भएका थिए र कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीका रूपमा पनि अघि सारेको थियो ।

थापाको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो । २०५१ सालमा त्रिचन्द्र क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यमा निर्वाचित भएका उनी २०५५ सालमा सोही क्याम्पसको स्ववियु सभापति बनेका थिए । त्यसपछि नेपाल विद्यार्थी संघमा २०५७ सालमा उपाध्यक्ष र २०५९ सालमा महामन्त्री बनेका थिए ।

गणतन्त्रको पक्षमा खुलेर वकालत गर्ने नेताका रूपमा परिचित थापा २०६२–०६३ को जनआन्दोलनमा सक्रिय रहे । त्यसै आन्दोलनले उनलाई राष्ट्रिय राजनीतिमा थप चर्चित बनायो । उनी २०७० सालमा स्वास्थ्य मन्त्री समेत बनेका थिए । अहिले उनी राजनीतिमा पुस्तान्तरणको एजेन्डा उठाउँदै आएका छन् ।

उता सिंह लामो समयदेखि सर्लाहीको राजनीतिमा सक्रिय नेताका रूपमा चिनिन्छन् । उनको जन्म सन् १९७० सेप्टेम्बर ५ मा सर्लाहीको बलरा क्षेत्रमा भएको हो । उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा पीएचडी गरेका छन् ।

सिंहको राजनीतिक यात्रा मधेशकेन्द्रित आन्दोलनबाट सुरु भएको थियो । उनले सुरुवातमा मधेशी जनाधिकार फोरमबाट राजनीति सुरु गरेका थिए । पछि नेपाली कांग्रेसमा प्रवेश गरेर सक्रिय राजनीति गर्दै आएका उनी २०७० र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट सांसद निर्वाचित भएका थिए ।

२०७९ सालको निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए र पुनः निर्वाचित भएका थिए । पछिल्लो पटक भने उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए ।

संसदमा आक्रामक शैलीका अभिव्यक्ति र असामान्य गतिविधिका कारण सिंह बेलाबेला चर्चामा आउने गरेका छन् । उनले अघिल्लो समय बालेन शाह प्रधानमन्त्री नबने जनकपुरमा आत्मदाह गर्ने र आफू चुनावमा नजिते आत्महत्या गर्ने जस्ता विवादास्पद अभिव्यक्ति दिएका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन २४, आईतवार ००:३९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP