मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

2K
SHARES

इन्द्रजात्रा पर्व आज धूमधामका साथ मनाइँदै
देवराज इन्द्रको पूजा, रथयात्रा, नाचगान र धार्मिक विधिसहित जात्रा प्रारम्भ

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गर्दै आज उपत्यकामा परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदै छ । विशेषतः काठमाडौं उपत्यका र वरपरका स्थानहरूमा यो पर्व धूमधाम, नाचगान, रथयात्रा, र धार्मिक अनुष्ठानका साथ मनाइने गरिन्छ ।

आठ दिनसम्म चल्ने जात्रा
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा विशेष महत्वका साथ मनाइन्छ । जात्रा सुरु हुनुको संकेतस्वरूप भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याइन्छ, जसलाई ुइन्द्रध्वजोत्थानु भनिन्छ । त्यसपछि आठ दिनसम्म जात्राको विभिन्न धार्मिक, सांस्कृतिक तथा परम्परागत गतिविधिहरू सञ्चालन हुन्छन् ।

इन्द्रध्वज र शक्तिको प्रतीक
इन्द्रध्वजको फेदमा भैरवको पूजा गर्ने चलन छ । यो पर्व शक्तिको प्रदर्शन र शत्रुमाथिको विजयको प्रतीकका रूपमा समेत मनाइन्छ । इन्द्रध्वज ठड्याउने लिङ्गो भक्तपुरको चितपोल जङ्गलबाट तान्त्रिक विधिअनुसार पूजित बोकाले छोएको रूख काटी ल्याइन्छ, जुन भोटाहिटीमा एकादशीका दिन लिङ्गो बनाइन्छ ।

रथयात्रा र सांस्कृतिक कार्यक्रम
आजको मुख्य आकर्षणको रूपमा हनुमानढोका दरबारस्थित गद्दी बैठक अगाडि जीवित देवीहरू— श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा हुने छ । अतीतमा राजाले स्वयं जात्रामा उपस्थित भएर दर्शन गर्ने परम्परा रहेको भए तापनि अहिले राष्ट्रपतिको उपस्थितिमा अवलोकन गरिन्छ ।

जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशावतार नाच, साथै इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच प्रस्तुत गरिन्छ । जात्राको आठौँ दिन अर्थात् आश्विन कृष्ण चतुर्थीका दिन ‘इन्द्रध्वज पातन’ गरिन्छ, जसमा लिङ्गो लडाउने गरिन्छ ।

इन्द्रदहमा स्नान र जाग्रामको परम्परा
यस पर्वको अवसरमा काठमाडौं उपत्यकाको पश्चिममा अवस्थित दहचोकको इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमासम्म श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्छ । यहाँ रातभर जाग्राम बसेर स्नान गर्ने धार्मिक परम्परा पुरानो समयदेखि चल्दै आएको छ ।

इन्द्रजात्रा केवल धार्मिक पर्व मात्र नभई सांस्कृतिक, ऐतिहासिक र सामाजिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यो जात्राले काठमाडौं उपत्यकाको मौलिक परम्परा, समुदायको एकता र सांस्कृतिक समृद्धिको प्रतिनिधित्व गर्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र २१, शनिबार ००:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP