मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

इन्धन मूल्यवृद्धिपछि फेरि भाडा समायोजनको माग, यातायात व्यवसायीको सरकारलाई चेतावनी

1.4K
SHARES
इन्धन मूल्यवृद्धिपछि फेरि भाडा समायोजनको माग, यातायात व्यवसायीको सरकारलाई चेतावनी

काठमाडौं । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले इन्धनको मूल्यमा भएको तीव्र वृद्धिलाई आधार बनाउँदै सार्वजनिक सवारीसाधनको भाडादर पुनः समायोजन गर्न सरकारसँग माग गरेको छ । महासंघले तत्काल वैकल्पिक व्यवस्था नगरे सार्वजनिक यातायात सेवा प्रभावित हुन सक्ने चेतावनीसमेत दिएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरताका कारण पेट्रोलियम पदार्थको मूल्य छोटो अवधिमै ह्वात्तै बढेको छ । यही अवस्थालाई मध्यनजर गर्दै सरकारले हाल दिएको ५० प्रतिशत भन्सार छुटलाई शतप्रतिशत पुर्‍याउन वा अन्य राहतको विकल्प खोज्न आग्रह गरिएको उनले बताए ।

उनले इन्धनमा भएको अस्वाभाविक मूल्यवृद्धिले यातायात व्यवसायीलाई प्रत्यक्ष असर पारेको भन्दै भाडादर समायोजन नगरी सेवा सञ्चालन निरन्तर राख्न कठिन हुने उल्लेख गरे । “इन्धनको मूल्य लगातार उकालो लाग्दा पुरानै भाडादरमा सेवा दिन सम्भव छैन,” उनले भने, “तत्काल समायोजन वा राहत नभए देशभर सार्वजनिक यातायात सेवा प्रभावित हुन सक्छ ।”

यसअघि सरकारले २५ चैतमा नियमित समायोजन प्रक्रियाअन्तर्गत सार्वजनिक यातायात तथा ढुवानी सवारीको भाडादर हेरफेर गरेको थियो । तर त्यसयता इन्धनको मूल्यमा पुनः भारी वृद्धि भएपछि फेरि भाडा समायोजनको आवश्यकता परेको महासंघको भनाइ छ ।

बिहीबार जारी विज्ञप्तिमा महासंघले नेपाल आयल निगमले पटक–पटक मूल्यवृद्धि गर्ने नीति पुनर्विचार गर्नुपर्ने माग गरेको छ । निगम सरकारी स्वामित्वको संस्था भएकाले मूल्यवृद्धिको विकल्प खोजी उपभोक्ता र व्यवसायी दुवैलाई राहत हुने नीति ल्याउनुपर्नेमा महासंघले जोड दिएको छ ।

यस्तै, देशभर सेवा सञ्चालन गरिरहेका सदस्य व्यवसायीलाई पनि विषम परिस्थितिको मूल्यांकन गर्दै पेट्रोलियम पदार्थको खपत घटाउने उपाय अपनाउन र सञ्चालन खर्चमा हुने घाटा कम गर्ने रणनीति अपनाउन महासंघले आग्रह गरेको छ ।

महासंघले सरकार, आयल निगम र सरोकारवाला निकायबीच तत्काल छलफल गरी इन्धन मूल्यवृद्धिको दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएको छ । अन्यथा यातायात क्षेत्र थप संकटमा जाने र त्यसको प्रत्यक्ष असर यात्रु तथा बजार आपूर्तिमा पर्ने चेतावनी महासंघले दिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख ३, बिहीबार १३:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP