मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मौलिक संस्कृति जोगाउन प्रधानमन्त्री कार्कीको आग्रह, सरकारी कार्यालयमा परम्परागत पोशाकबारे छलफल गर्न सकिने

2K
SHARES
मौलिक संस्कृति जोगाउन प्रधानमन्त्री कार्कीको आग्रह, सरकारी कार्यालयमा परम्परागत पोशाकबारे छलफल गर्न सकिने

काठमान्डु । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली समाजले आफ्नो मौलिक परम्परा, संस्कृति र पहिचानलाई बिर्सन नहुने स्पष्ट पारेकी छिन् । संस्कृतिभित्र रहेका केही हानिकारक प्रथाहरू समयक्रममा परिमार्जन गर्दै जानुपर्ने भए पनि मौलिक पहिचान झल्किने परम्परा र वेशभूषाको संरक्षण अनिवार्य रहेको उनको भनाइ छ ।

आइतबार तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँग भएको भेटका क्रममा प्रधानमन्त्री कार्कीले आधुनिकताका नाममा मौलिकता हराउँदै गएकोतर्फ चिन्ता व्यक्त गरिन् । उनले धेरै समुदाय अहिले आफ्नै पहिचान खोज्ने अवस्थामा पुगेको उल्लेख गर्दै सांस्कृतिक विविधता नेपालकै शक्ति भएको बताइन् ।

प्रधानमन्त्री कार्कीले सरकारी तहबाटै सांस्कृतिक संरक्षणको सन्देश दिन सकिने धारणा राख्दै सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक दिन कर्मचारीहरूले आफ्ना परम्परागत पोशाक लगाउने व्यवस्था गर्ने विषयमा समेत छलफल गर्न सकिने बताइन् । यसले संस्कृतिप्रति सम्मान बढ्नुका साथै नयाँ पुस्तामा पहिचानप्रतिको चेतना जागृत हुने उनको विश्वास थियो ।

‘आधुनिकता आवश्यक छ, तर आधुनिक बन्दैमा आफ्नै मौलिकता गुमाउनु हुँदैन,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘नेपाली समाज विविध संस्कृतिले भरिपूर्ण छ । ती सबै हाम्रो पहिचान हुन्। तिनलाई जोगाउँदै अघि बढ्नु नै समावेशी र समृद्ध समाजको आधार हो ।’

भेटका क्रममा तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्ले आउँदो पुस १५ गते आयोजना हुने तमु ल्होसार कार्यक्रमका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री कार्कीलाई प्रमुख अतिथिका रूपमा सहभागी हुन औपचारिक निमन्त्रणा गरेको छ । परिषद्का महासचिव राजु गुरुङले निमन्त्रणापत्र वाचन गरेका थिए ।

प्रधानमन्त्री कार्कीले निमन्त्रणाका लागि आभार व्यक्त गर्दै संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको बताइन् । यस्ता सांस्कृतिक कार्यक्रमहरूले आपसी सद्भाव, एकता र राष्ट्रिय पहिचान सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा थियो ।



अगुल्टो अगुल्टो   
  • २०८२ पुष ६, आईतवार ०८:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP