मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोमाञ्चक खेलमा यूएईमाथि नेपालको १ रनको जित

4K
SHARES
रोमाञ्चक खेलमा यूएईमाथि नेपालको १ रनको जित

नेपालले सुपर सिक्सको थ्रिलर खेलमा यूएईलाई १ रनले हराउँदै विश्वकपको सम्भावना कायम राख्यो
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्रीय छनोट अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले चिर प्रतिद्वन्द्वी संयुक्त अरब एमिरेट्स (यूएई) लाई १ रनले हराउँदै २०२६ टी–२० विश्वकप नजिक पुग्ने लक्ष्यलाई थप सुदृढ बनाएको छ ।

नेपाल र यूएई दुबैका लागि यो खेल ‘गर वा मर’ को स्थिति थियो । ओमानको अल एमिरेट क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेपालले यूएईलाई पछ्याउनै नसकिने दबाब सिर्जना गरे पनि अन्तिम ओभरसम्म रोमाञ्च कायमै रह्यो । नेपालले १ सय ४१ रनको लक्ष्य दिएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिँदै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो । जवाफी इनिङ्समा यूएईले अन्तिम ओभरमा जितको सम्भावना बनाएको भए पनि दबाबपूर्ण क्षणमा नेपालले उत्कृष्ट फील्डिङ र बलिङ गर्दै खेल आफ्नो पक्षमा पारेको हो ।

यूएईका लागि अलिसान सराफुले ५८ रनको विस्फोटक इनिङ्स खेले । उनले ४० बलमा ३ चौका र ५ छक्का प्रहार गरे । तर दिपेन्द्र सिंह ऐरिको बलमा बोल्ड आउट भएपछि यूएईको जीतको आशा कमजोर भयो ।

ध्रुभ परासरले ३२ रन बनाए । उनले १९औँ ओभरको अन्तिम बलमा छक्का हान्दा नेपाल दबाबमा पर्‍यो । तर अन्तिम ओभरमा सन्दीप जोराले परासरलाई क्याच आउट गराएपछि नेपालले खेल आफ्नो पक्षमा ल्यायो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरिले सबैभन्दा प्रभावशाली प्रदर्शन गर्दै ३ विकेट लिए । सन्दीप लामिछाने, सोमपाल कामी र गुल्सन झाले समान एक–एक विकेट झारे । रन आउटका रुपमा पनि नेपालले दुई विकेट निकाल्दै दबाब कायम राख्यो ।

नेपालका ओपनर आशिफ शेखले ५१ रन बनाएर टोलीलाई मजबुत सुरुआत दिलाए । कुशल भुर्तेलसँग ५६ रनको साझेदारी गर्दै सुरुवात राम्रो गरेका आशिफले ४७ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।

कप्तान रोहित पौडेल २० रनमा आउट भए भने दिपेन्द्र सिंह ऐरि केवल १ रनमा पेभेलियन फर्किए । गुल्सन झाले छोटो तर आक्रामक इनिङ्स खेल्दै १४ रन बनाए । अन्त्यतिर सन्दीप जोरा (४) र सोमपाल कामी (६) ले संयमित ब्याटिङ गर्दै नेपाललाई १४० रनसम्म पुर्‍याए ।

यो जितसँगै नेपालले सुपर सिक्समा ४ अंक बनाएको छ । नेपालले समूह चरणमा जापानलाई पराजित गर्दै २ अंक जोडेको थियो । अर्कोतर्फ, ओमानले पनि कतारलाई ३४ रनले हराउँदै समान ४ अंक बनाएको छ र नेट रनरेटका आधारमा शीर्ष स्थानमा छ । यूएई भने २ अंकसहित तेस्रो स्थानमा छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २६, आईतवार १४:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP