मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

‘सही नेतृत्व बिना देश अघि बढ्न सक्दैन’: कुलमान घिसिङ

3K
SHARES
‘सही नेतृत्व बिना देश अघि बढ्न सक्दैन’: कुलमान घिसिङ

बार्सिलोना । युरोप भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकको समग्र प्रगति राजनीतिक नेतृत्वमा निर्भर हुने बताएका छन् ।

कोष्टाव्लाङ्कामा एनआरएनए क्षेत्रीय समिति र नेपाल समाज एसोसिएसनले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको रुपान्तरणका लागि सक्षम र इमानदार नेतृत्व आवश्यक रहेको उल्लेख गरे ।

घिसिङका अनुसार, विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन र छिटो आर्थिक विकास गर्न नेतृत्व र नीतिमा व्यापक सुधार अनिवार्य छ । उनले भने, ‘सही नेतृत्व नहुँदासम्म देश अगाडि बढ्न सक्दैन। अहिले झण्डै प्रत्येक घरमा बिजुली पुगेको छ, तर केवल उज्यालो मात्र पर्याप्त होइन। शासन प्रणाली सुधार, रोजगारी सिर्जना र समृद्ध नेपालको खाका कोर्न आवश्यक छ।’

उनले आफ्नो कार्यकालका उपलब्धिहरू स्मरण गर्दै प्राधिकरणमा आउँदा ८०० मेगावाट रहेको विद्युत उत्पादन अहिले करिब ४ हजार मेगावाट पुगेको बताए । वार्षिक २५ अर्ब रुपैयाँ महसुल संकलन गर्दै प्राधिकरणलाई आर्थिक रूपमा सबल बनाउन सफल भएको उनले उल्लेख गरे ।

चार महिनाअघि सरकारले आफूलाई बर्खास्त गरेको प्रसङ्गलाई व्यंग्यात्मक शैलीमा स्मरण गर्दै उनले भने, ‘नेपाल सरकारले मलाई हटाएको भएन भने म आज तपाईंहरूसँग भेटघाट गर्न पाउने थिइनँ ।’

‘उज्यालो नेपाल अभियान’को उद्देश्यबारे प्रष्ट पार्दै उनले देशका हरेक क्षेत्रमा अँध्यारो हटाई आशा जगाउने र प्रत्येक नेपालीको अनुहारमा उज्यालो छर्ने लक्ष्य रहेको बताए। हालै खाडी मुलुक, अमेरिका, बेल्जियम, नेदरल्याण्ड्स, माल्टा हुँदै स्पेन पुगेका उनले यस यात्राले धेरै सिक्ने अवसर दिएको बताए ।

प्रवासी नेपालीको भूमिकाबारे घिसिङले थपे, ‘संसारभर करिब ५० लाख नेपालीले सीप, ज्ञान र अनुभव संकलन गरेका छन् । उनीहरूको क्षमता स्वदेशको विकासमा लगाउन सकियो भने यो मुलुकका लागि ठूलो सम्पत्ति हुनेछ ।’

कार्यक्रममा उनले प्रवासी नेपालीलाई ‘उज्यालो नेपाल अभियान’मा सक्रिय सहभागिताका लागि समेत आग्रह गरे ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ७, शनिबार ०९:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP