मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पत्रकार पक्राउप्रति महासंघको आपत्ति, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

0
SHARES
पत्रकार पक्राउप्रति महासंघको आपत्ति, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

काठमाडौं । समाचार कक्षमै प्रवेश गरेर पत्रकारहरूलाई पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ । महासंघले प्रहरीको उक्त कदमलाई प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै तत्काल यस्ता गतिविधि रोक्न सरकारसँग माग गरेको छ ।

शुक्रबार नेपाल प्रेसको कार्यालयबाट पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका पत्रकार शोभराज बराल र डीएनए खबरका प्रधान सम्पादक धिरज बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जनालाई केही घण्टापछि रिहा गरिएको महासंघले जनाएको छ ।

त्यसैगरी, नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनालीलाई पनि कार्यालयबाटै पक्राउ गर्ने प्रयास गरिएको घटनाप्रति महासंघले निन्दा र खेद व्यक्त गरेको छ । मैनालीलाई पक्राउ गर्न पुगेको प्रहरी साँझ ५ बजेदेखि ७ बजेसम्म कार्यालयमै बसेको थियो । महासंघका महासचिव रामप्रसाद दाहालसहितको टोलीले दबाब दिएपछि प्रहरी पछि हटेको जनाइएको छ ।

शुक्रबार पक्राउ परेका पत्रकारहरूलाई साँझ नै रिहा गरिएको भए पनि दियो पोस्टका पत्रकार सुदिप विश्वकर्मालाई समेत पक्राउ गर्न निगरानी भइरहेको जानकारी प्राप्त भएको महासंघले जनाएको छ ।

महासंघले समाचारका विषयमा कुनै समस्या वा विवाद भए कानुनी प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा प्रहरी परिचालन गरी पत्रकारलाई धरपकड गर्नु अनुचित भएको उल्लेख गरेको छ । यस्तो गतिविधि संविधान, कानुन तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाविपरीत रहेको महासंघको ठहर छ ।

त्यस्तै, पत्रकारितासम्बन्धी विषयमा प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारलाई समेत बेवास्ता गर्दै राज्यसत्ताको आडमा प्रहरीले स्वेच्छाचारी व्यवहार गरेको भन्दै महासंघले त्यसको कडा भर्त्सना गरेको छ ।

महासंघले सबै पत्रकारलाई निर्भीक र अविचलित रूपमा आफ्नो पेसागत जिम्मेवारी निर्वाह गर्न तथा प्रेस स्वतन्त्रतामाथि हुने हस्तक्षेपविरुद्ध आवाज उठाउन आह्वान गरेको छ ।

महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारमाथिको धरपकड नरोकिए महासंघ सशक्त आन्दोलनमा उत्रने चेतावनीसमेत दिइएको छ । महासंघले प्रेस स्वतन्त्रताको रक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै पत्रकारलाई त्रसित बनाउने गतिविधि तत्काल रोक्न आग्रह गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ कार्तिक १५, शनिबार ००:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP