मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रपति पौडेल औपचारिक भ्रमणमा जापान प्रस्थान

2.4K
SHARES
राष्ट्रपति पौडेल औपचारिक भ्रमणमा जापान प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक भ्रमणका लागि गएराति मित्रराष्ट्र जापानतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्का सदस्यहरू, सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ सरकारी अधिकारी तथा नेपालका लागि जापानी राजदूतलगायतले राष्ट्रपति पौडेललाई बिदाइ गरेका थिए ।

राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारीहरू तथा राष्ट्रपति कार्यालयका पदाधिकारीहरू सहभागी छन् । राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल जापान प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणकै क्रममा आजै नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा जापान सरकारद्वारा आयोजना गरिने विशेष स्वागत समारोहमा उनी सहभागी हुनेछन् ।

माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग राष्ट्रपति पौडेलको राजकीय शिष्टाचार भेट हुने कार्यक्रम छ । सोही दिन जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएसँग पनि भेटवार्ता तय गरिएको छ । यसका साथै जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि राष्ट्रपति पौडेलको शिष्टाचार भेटवार्ता हुनेछ ।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँगको बैठकमा सहभागिता जनाउनुका साथै जापानस्थित नेपाली राजदूतावासले आयोजना गर्ने सम्मान तथा स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम छ ।

नेपाल र जापानबीचको सम्बन्ध १८औँ शताब्दीको अन्त्यतिरबाट सुरु भएको मानिन्छ । सन् १९५६ सेप्टेम्बर १ मा औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएपछि दुई देशबीचको सम्बन्ध मित्रता, सद्भाव र सहयोगमा आधारित रहँदै आएको छ । नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौंमा दूतावास स्थापना गरेका थिए । जापानको ओसाकामा नेपालको मानार्थ वाणिज्य दूतावाससमेत सञ्चालनमा छ ।

इतिहासकारहरूका अनुसार जापानी बौद्ध भिक्षु रेभ एकाइ कावागुची सन् १८९९ मा पवित्र बौद्ध धर्मग्रन्थको खोजीमा तिब्बत हुँदै नेपाल आएका थिए । उनले आफ्ना लेखन र प्रकाशनमार्फत जापानमा नेपालको परिचय गराउँदै लुम्बिनीको महत्व उजागर गरेका थिए ।

राणा शासनकालमा सन् १९०२ मा आठ जना नेपाली विद्यार्थी उच्च शिक्षाका लागि जापान गएपछि नेपाली समाज जापानी संस्कृति र प्रविधिसँग अझ नजिकिएको बताइन्छ । पछिल्ला वर्षहरूमा दुवै देशबीच उच्चस्तरीय भ्रमणहरूको आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाएको छ ।

जापानले सन् १९५४ देखि नेपालका सामाजिक–आर्थिक विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ । उसले द्विपक्षीय अनुदान, सहुलियतपूर्ण ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोगमार्फत नेपाललाई सहयोग पुर्‍याउँदै आएको छ । विद्युत् उत्पादन, सडक, पुल, खानेपानी, दूरसञ्चारजस्ता आधारभूत पूर्वाधार विकासमा जापानको योगदान उल्लेखनीय रहेको छ ।

जापानी सहयोगअन्तर्गत सिन्धुली सडक प्रमुख परियोजनामध्ये एक हो । यसका साथै कुलेखानी ९१ र २० जलविद्युत् आयोजना, कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना, उदयपुर सिमेन्ट उद्योग र मेलम्ची खानेपानी परियोजनामा पनि जापानले ऋण सहयोग प्रदान गरेको छ ।

हाल सहुलियतपूर्ण ऋण योजनाअन्तर्गत नागढुङ्गा सुरुङ मार्ग, खानेपानी आपूर्ति सुधार परियोजना तथा चौबाटो सुधार परियोजनाजस्ता पूर्वाधार विकासका आयोजनाहरू सञ्चालनमा रहेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १९, सोमबार ००:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP