मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बाढी–पहिरोले देशभरका सडक प्रभावित, सात राष्ट्रिय राजमार्ग पूर्णरूपमा अवरुद्ध

533
SHARES
बाढी–पहिरोले देशभरका सडक प्रभावित, सात राष्ट्रिय राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा मुख्य सडकखण्डमा यातायात प्रभावित भएको छ । सडक विभागका अनुसार काठमाडौं उपत्यका जोड्ने पृथ्वी, बीपी र कान्ति राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ भने अन्य केही सडकमा एकतर्फी तथा आंशिक रूपमा सवारी सञ्चालन भइरहेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको रजैयामा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ । पहिरो हटाएर दुवैतर्फी यातायात सञ्चालन गर्ने प्रयास भइरहेको विभागले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर, तिङ्ग्राङखानी, बाङ्गे र चालिसेमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ । पहिरो हटाउने काम जारी रहेको प्रहरीले जनाएको छ । यस्तै, नारायणघाट–मुग्लिन सडकखण्डको नाम्सी खोला पुलमा लेदोसहितको पहिरो खसेपछि सडक बन्द भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अवरोध हटाउने काम भइरहेको छ ।

बीपी राजमार्गका माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाएपछि यातायात ठप्प भएको छ । निरन्तर वर्षा भइरहेकाले तत्काल सडक सञ्चालन गर्न कठिन रहेको विभागले जनाएको छ ।

कान्ति राजमार्गअन्तर्गत चपली, तकुर्चेलगायत स्थानमा पहिरो खसेपछि सवारी आवागमन बन्द भएको छ । सिद्धिचरण राजमार्गको ओखलढुङ्गा–सल्लेरी खण्डमा सोलुखोलानजिक सडक भासिएपछि भित्तो कटान गरेर अस्थायी रूपमा यातायात सञ्चालन गरिएको छ ।

मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–हटिया खण्डका नरेठाँटी, काफलठुटा, झाँक्रीस्थान र चौराहलगायत स्थानमा पहिरो तथा ढलेका रुख हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा–२ बैसेरी सिरुवारीमा पहिरो खसे पनि निरन्तर वर्षाका कारण हटाउन कठिनाइ भइरहेको छ । जैमिनी–८ बेलबगरमा स्थानीय यातायातका लागि सडक एकतर्फी खुलाइएको छ भने लामो दूरीका सवारीलाई भने सञ्चालन अनुमति दिइएको छैन ।

तमोर करिडोरको मुलघाट–फिदिम सडकखण्डअन्तर्गत छरुवा खोला, नवा खोला र रानीगाउँमा सडक आंशिक रूपमा अवरुद्ध भएको छ । नदीको बहाव बढ्दा सडक बन्द हुने र पानीको सतह घटेपछि सञ्चालन हुने अवस्था रहेको विभागले जनाएको छ ।

राप्ती राजमार्गको कपुरकोट–खारखोला–टुनीकोट खण्डमा पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द छ। कर्णाली राजमार्गको गगने खोला, राँका तथा बाङ्गेसिमल–दहीखोला खण्डमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ । ती स्थानमा पहिरो हटाएर सडक सञ्चालन गर्ने काम भइरहेको छ ।

भालुवाङ–चकचके–लिवाङ सडकका विभिन्न स्थानमा पहिरो खसेपछि आंशिक अवरोध भएको छ । साना सवारीसाधनलाई सावधानीपूर्वक सञ्चालन गर्न दिइएको छ भने पहिरो तथा ढुंगा हटाउने काम भइरहेको छ ।

बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–खोत्रोमा ढुंगा खसेपछि सडक पूर्णरूपमा बन्द भएको छ । वर्षा भइरहेकाले पहिरो हटाउनसमेत कठिनाइ भइरहेको विभागले जनाएको छ ।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार अवरुद्ध सडक खुलाउन आवश्यक उपकरण तथा प्राविधिक टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । सडकको अवस्था हेरेर अवरोध हटाउने र यातायात सेवा सकेसम्म छिटो सञ्चालन गर्ने प्रयास भइरहेको विभागले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ आश्विन ११, आईतवार ०७:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP