मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित

78
SHARES
एनपीएलमा जनकपुरको दोस्रो जित, पोखरा ९ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको हो । यससँगै पोखराले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ । यसअघि पोखरा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो ।

जनकपुरले दिएको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो । पोखराका लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

कुशलले २४ बलमा ५ चौकासहित ३५ रन बनाए । उनलाई ललित राजवंशीको बलमा अभिषेक तिवारीले क्याच आउट गराए । किरण ठगुन्नाले ५ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाए । उनी हरमित सिंहको बलमा एलबीडब्लु आउट भए ।

पोखराका अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । विपिन आचार्यले २० रन बनाए भने विपिन खत्री १६ रनमा अविजित रहे । सकिब अल हसनले ९, मेहदी हसनले ८ र अर्जुन घर्तीले ७ रन बनाए । चमिका करुणारत्नेले ४, दिनेश खरेलले ३ र मोहम्मद सैफुद्दिनले शून्य रनमा विकेट गुमाए ।

पोखराको ब्याटिङ धराशायी बनाउन जनकपुरका मोइन अलीले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर ३ विकेट लिए । सैफ हसन र हरमित सिंहले समान २ विकेट लिए भने जिम्मी निसम र ललित राजवंशीले एक–एक विकेट हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पोखराले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

जनकपुरका ओपनर तृतराजले सर्वाधिक ६१ रनको योगदान दिए । उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे । अर्धशतक पूरा गर्न उनले ४९ बल खेलेका थिए । उनलाई मेहदी हसनको बलमा पोखराका कप्तान कुशल भुर्तेलले क्याच आउट गराए ।

तृतराजको यो एनपीएलमा छैटौँ अर्धशतक हो । यसअघि सोमपाल कामी, डेविड मलान, मोइन अली, दीपेन्द्रसिंह ऐरी र लोकेश बमले पनि प्रतियोगितामा अर्धशतक बनाइसकेका छन् ।

अर्का ओपनर मोइन अलीले १६ बलमा ३ चौका र १ छक्कासहित २१ रन बनाए । उनी सकिब अल हसनको बलमा क्याच आउट भए । जिम्मी निसमले ११ रन जोड्दा कप्तान हरमित सिंह र अनिल शाहले समान ९ रन बनाए । सैफ हसनले १ रन मात्र बनाउन सके । अभिषेक तिवारी २४ रनमा अविजित रहे ।

पोखराका लागि सकिब अल हसनले सर्वाधिक ३ विकेट लिए । मोहम्मद सैफुद्दिन र चमिका करुणारत्नेले समान १ विकेट हात पारे । मेहदी हसनले ४ ओभरमा १ मेडनसहित २४ रन खर्चेर १ विकेट लिए ।

यस जितसँगै जनकपुरले प्रतियोगितामा आफ्नो लय कायम राख्ने संकेत गरेको छ भने पोखरा लगातार दुई हारपछि दबाबमा परेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ कार्तिक १७, सोमबार ००:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP