मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभाको पहिलो बैठकः ‘जेनजी आन्दोलन’बारे दलहरूबीच तीखा आरोप–प्रत्यारोप

338
SHARES
प्रतिनिधिसभाको पहिलो बैठकः ‘जेनजी आन्दोलन’बारे दलहरूबीच तीखा आरोप–प्रत्यारोप

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बिहीबार बसेको पहिलो बैठकमै गत भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’ र त्यसक्रममा भएको आगजनी तथा दमनका घटनाबारे प्रमुख दलहरूबीच तीखा घोचपेच भएको छ । शीर्ष नेताहरूले शुभकामना मन्तव्य दिने क्रममा आन्दोलन, छानबिन आयोग, दमन र संसद् भवन–सिंहदरबारमा भएको क्षतिबारे एकअर्कालाई लक्षित गर्दै आरोप–प्रत्यारोप गरेका हुन् ।

नयाँ प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ । नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो, नेकपा एमाले २५ सिटसहित तेस्रो, नेपाली कम्युनिस्ट पार्टी १७ सिटसहित चौथो, श्रम संस्कृति पार्टी ७ सिटसहित पाँचौँ र राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सिटसहित छैटौँ स्थानमा छन् । यही सिट संख्याका आधारमा दलहरूलाई बोल्ने समय निर्धारण गरिएको थियो ।

रास्वपा सभापति रवि लामिछानेले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिद परिवारलाई न्याय दिलाउनुपर्ने विषय उठाउँदै अघिल्लो शासनकालमा कानुन संशोधन र अध्यादेशमार्फत आफ्नालाई जोगाउने तथा विपक्षीलाई फसाउने प्रवृत्ति अब सच्याइने संकेत गरे । उनले “न्याय पाउने पहिलो हक सहिदकी आमाको हो” भन्दै त्यसलाई प्रतिशोधको रूपमा नहेर्न आग्रह गरे । उनको अभिव्यक्ति बैठकको सुरुमै एमालेले केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउप्रति उठाएको आपत्तिको जवाफका रूपमा हेरिएको थियो ।

कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले भदौ २३ र २४ दुवै दिनका घटनालाई समग्र रूपमा हेर्नुपर्ने बताए । २३ गतेको दमन मात्र वा २४ गतेको ध्वंस मात्र हेर्ने प्रवृत्ति गलत भएको उनको भनाइ थियो । उनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले २३ गतेको घटनामात्र अनुसन्धान गरेर २४ गतेको विषय अधुरै छाडेको भन्दै प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे । साथै संसद् भवन, सिंहदरबार र अन्य भौतिक संरचना किन जलाइयो भन्नेबारे पनि सरकारको ध्यानाकर्षण गराए ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले २४ गतेको विध्वंस किन भयो र त्यसको उद्देश्य के थियो भन्नेबारे सरकारसँग स्पष्ट जवाफ माग गरे । उनले सिंहदरबार, राष्ट्रपति निवास र संसद् भवनमा भएको आगजनीको कारण खोज्नुपर्ने बताए । साथै उनले निर्वाचनमा रास्वपाको अप्रत्याशित विजयमा दृश्य–अदृश्य शक्ति, सेना, ब्युरोक्रेसी, एआई, अल्गोरिदम र मिडिया ट्रायलको भूमिका रहेको आरोप लगाए ।

नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले भने भदौ २३–२४ मा सडकमा उत्रिएका युवाको असन्तुष्टिलाई स्वीकार गर्दै त्यो विद्रोह सुशासन, विकासको गति र प्रणालीप्रतिको असन्तोषको अभिव्यक्ति भएको बताए । उनले निर्वाचनमार्फत आएको जनमत सबैले स्वीकार गरिसकेको उल्लेख गरे ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जेनजी आन्दोलनका नाममा विद्यालय पोशाकमै बालबालिकालाई सडकमा उतारिएको, शान्तिपूर्ण आन्दोलनलाई हिंसात्मक बनाइएको र सिंहदरबार–संसद् भवन जलाइएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही र स्वतन्त्र सांसद महावीर पुनले भने आफ्नो मन्तव्यमा भदौ २३–२४ को घटनाबारे कुनै टिप्पणी गरेनन् ।

यसरी नयाँ प्रतिनिधिसभाको पहिलो बैठक नै शुभकामनाभन्दा बढी जेनजी आन्दोलन, दमन, आगजनी र त्यसको राजनीतिक जिम्मेवारीबारे दलहरूबीचको तीव्र मतभेदले तातेको देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ चैत्र १९, बिहीबार १२:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP