मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भेप सुन तस्करी प्रकरण: महरालाई एक लाख धरौटीमा छाड्न आदेश

130
SHARES
भेप सुन तस्करी प्रकरण: महरालाई एक लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । भेपमार्फत सुन तस्करी गरेको आरोपमा विशेष अदालतमा मुद्दा सामना गरिरहेका पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र विदुर कोइरालाको संयुक्त इजलासले महरालाई धरौटीमा छाड्ने निर्णय गरेको हो । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २६ गते महरा र उनका छोरा राहुल महरासहित २८ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो ।

आयोगले उनीहरूमाथि विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर चीनबाट नेपाल भित्र्याउने र त्यसलाई बिक्री वितरण गर्ने संगठित तस्करी सञ्जाल सञ्चालन गरेको आरोप लगाएको छ । आरोपपत्रमा महरा बाबुछोरालाई उक्त नेटवर्कका प्रमुख योजनाकारका रूपमा चित्रण गरिएको छ ।

अख्तियारका अनुसार सन् २०२२ र २०२३ को अवधिमा भेपको प्रयोग गरी सुन तस्करी गरिएको प्रमाण फेला परेको दाबी गरिएको छ । यही आधारमा भ्रष्टाचार, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअन्तर्गत कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको हो ।

अनुसन्धानका क्रममा महराको भेपमार्फत हुने सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिकहरूसँग सम्बन्ध र आर्थिक कारोबार रहेको विषय पनि खुलेको अख्तियारको दाबी छ । २०७९ सालमा भेपको आवरणमा सुन नेपाल भित्र्याउने प्रयास गर्दा भन्सारले सुन बरामद गरेपछि यो प्रकरण सार्वजनिक भएको थियो ।

यसअघि सोही घटनासम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । पछि उच्च अदालत पाटनले गत मंसिर ११ गते उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अब विशेष अदालतले पनि एक लाख रुपैयाँ धरौटीमा रिहा हुने बाटो खुला गरिदिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १८, सोमबार १२:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP