मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस: प्रचण्ड खाबाङ बगरमा, सहिद परिवार सम्मान गरिने

1.3K
SHARES
रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस: प्रचण्ड खाबाङ बगरमा, सहिद परिवार सम्मान गरिने

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनयुद्ध सुरु भएको थलो रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै छ । दिवसका अवसरमा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ रुकुमपूर्व आइपुगेका हुन् ।

भूमे गाउँपालिका–२ खाबाङ बगरमा आयोजना हुने कार्यक्रममा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र स्थानीय रुकुमेलीको सहभागिता रहने नेकपा रुकुमले जनाएको छ । कार्यक्रममा संयोजक प्रचण्डले २५२ जना सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ ।

विसं २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले सुरु गरेको सशस्त्र जनयुद्ध दस वर्षसम्म चलेको थियो । जनयुद्धका प्रमुख नेता प्रचण्ड पहिलोपटक जनयुद्ध दिवस मनाउन रुकुमपूर्व पुगेका हुन् । सङ्घीयतापछि गठन भएको कान्छो जिल्ला रुकुमपूर्व जनयुद्धकै उपलब्धिका रूपमा हेरिँदै आएको छ । प्रचण्ड यसै जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि हुन् ।

जनयुद्धका प्रारम्भिक गतिविधि
माओवादीले २०५२ फागुन १ मा रुकुमको आठबीसकोट, रोल्पाको होलरी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंकमा आक्रमण गरी जनयुद्धको सुरुआत गरेको थियो । रुकुम (पूर्व–पश्चिम) र रोल्पालाई आधार इलाका बनाउँदै माओवादीले चरणबद्ध रूपमा प्रहरी चौकीमाथि आक्रमण गर्दै प्रभाव विस्तार गरेको थियो ।

विसं २०५३ वैशाख २३ मा उपल्लो सेराको छेरावाङमा प्रहरीमाथि पहिलो एम्बुस आक्रमण भएको थियो । २०५४ माघ १६ मा क्युवाङमा भएको आक्रमणबाट माओवादीले पहिलोपटक थ्रीनट राइफल कब्जा गरेको थियो । २०५६ असोज ५ मा महत क्षेत्रमा आक्रमण गरी प्रहरी नायब उपरीक्षक ठूले राईसहितका सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएको घटना पनि चर्चित छ । पछि शीर्ष नेता देव गुरुङसँग राईको साटफेर गरिएको थियो ।

विसं २०५७ चैतमा रुकुमकोट चौकी आक्रमणमा ३२ प्रहरी र आठ छापामार गरी ४० जनाको ज्यान गएको थियो । २०६१ माघमा लाबाङमा बसेको पोलिटब्यूरो बैठकले डा। बाबुराम भट्टराईलाई कारबाही गर्ने निर्णय गरेको थियो भने २०६२ असोजमा चुनवाङमा बसेको केन्द्रीय समिति बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्दै शान्तिपूर्ण राजनीतिक यात्राको बाटो तय गरेको थियो ।

चुनवाङ बैठकपछि सात राजनीतिक दलसँग १२ बुँदे सहमति भई जनयुद्ध र जनआन्दोलनको संयोजनबाट राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापना, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीसहितको व्यवस्था लागू भएको थियो ।

भ्रमण कार्यक्रम
दिवस मनाउनुअघि संयोजक प्रचण्डले प्रहरी नायब उपरीक्षक ठूले राईलाई नियन्त्रणमा लिएको महतगाउँ र पोलिटब्यूरो बैठक बसेको लावाङगाउँको भ्रमण गर्ने कार्यक्रम छ । ती स्थानमा जनभेटघाट गरेपछि उनी चुनवाङ पनि पुग्ने बताइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १, शुक्रबार ००:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP