मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

देशभर सहिद दिवस मनाइँदै, बलिदानी सहिदप्रति श्रद्धाञ्जली

1.4K
SHARES
देशभर सहिद दिवस मनाइँदै, बलिदानी सहिदप्रति श्रद्धाञ्जली

काठमाडौं । देश र जनताको हितका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सहिदहरूको स्मरणमा आज देशभर सहिद दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । प्रजातन्त्र, स्वतन्त्रता र न्यायका लागि गरिएको त्यागको कदर गर्दै हरेक वर्ष माघ १६ गते यो दिवस मनाउने परम्परा रहिआएको छ ।

नेपालमा प्रजातन्त्र स्थापनाका क्रममा आफ्नो जीवन बलिदान गर्ने चार अमर सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य ज्ञात–अज्ञात सहिदको सम्झनामा सहिद दिवस मनाइन्छ । राणा शासनविरुद्ध आवाज उठाएको अभियोगमा तत्कालीन शासकले उनीहरूलाई मृत्युदण्ड दिएको थियो ।

ती सहिदहरूको साहस, त्याग र बलिदानले नेपाली समाजमा चेतनाको ज्योति फैलियो । तिनै बलिदानबाट प्रेरित जनआन्दोलनका कारण जहानियाँ राणा शासनको अन्त्य भयो र नेपालमा प्रजातन्त्रको स्थापना सम्भव भएको मानिन्छ ।

सहिद दिवसको अवसरमा सरकारी तथा गैरसरकारी निकाय, शैक्षिक संस्था र विभिन्न संघ–संस्थाले श्रद्धाञ्जली सभा, प्रभातफेरी, गोष्ठी तथा स्मरण कार्यक्रम आयोजना गर्दै आएका छन् । यसै सन्दर्भमा माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाउने परम्परा पनि रहिआएको छ ।

इतिहासअनुसार विसं २०१२ सालदेखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा औपचारिक रूपमा दिवस मनाउन थालिएको हो । स्वतन्त्रताको माग गरेकै कारण १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा तथा गङ्गालाल श्रेष्ठ र दशरथचन्द्र ठाकुरलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।

सहिद दिवसले नयाँ पुस्तालाई इतिहास सम्झाउने मात्र होइन, लोकतान्त्रिक मूल्य, राष्ट्रिय स्वाभिमान र नागरिक कर्तव्यप्रति प्रतिबद्ध रहन प्रेरणा दिने विश्वास गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १६, शुक्रबार ००:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP