मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुस्ताङमा यो सिजनको पहिलो हिमपात, मुक्तिनाथसम्मको यात्रा रोक्न प्रशासनको आग्रह

2.4K
SHARES
मुस्ताङमा यो सिजनको पहिलो हिमपात, मुक्तिनाथसम्मको यात्रा रोक्न प्रशासनको आग्रह

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा यस यामको पहिलो हिमपात भएको छ । उपल्लो मुस्ताङका कोरलानाका, लोमान्थाङ गाउँपालिका र मुक्तिनाथ क्षेत्र आज बिहानदेखि बाक्लो हिमपातले ढाकिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार उपल्लो मुस्ताङका उच्च लेकसँगै तल्लो मुस्ताङका पहाडी भूभागमा पनि वर्षासँगै हिमपात भएको छ ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले लोमान्थाङ–२ छोसर, कोरलानाका र मुक्तिनाथ क्षेत्रभर बाक्लो हिउँ परेको जानकारी दिए । मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीका अनुसार बिहानैदेखि परिरहेको हिमपातका कारण दर्शनार्थीहरूलाई मन्दिर पुग्न कठिनाइ भएको छ । “मुक्तिनाथ क्षेत्रमा करिब पाँचदेखि छ इन्चसम्म हिउँ जमिसकेको छ,” उनले बताए ।

त्यस्तै, लोघेकर दामोदरकुण्ड गाउँपालिकाको उच्च लेकमा निरन्तर हिमपात भइरहेको र बस्ती नजिकका भागमा वर्षासँगै आंशिक हिउँ परेको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका खिङ्गा, झोङ, छेङ्गुर र फल्याकलजस्ता उच्च भेगका गाउँमा पनि बाक्लो हिमपात भएको वडाध्यक्ष प्रमेश गुरुङले बताए । हिउँले चिसो बढाए पनि यसले स्याउ र अन्य अन्नबालीका लागि लाभदायक हुने उनले बताए । “हिउँले माटोको भित्री तह सिञ्चित गर्छ, त्यसैले यो किसानका लागि बरदान हो,” गुरुङको भनाइ छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले यात्रुहरूलाई कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह गरेको छ। बाक्लो हिमपातका कारण सडक चिप्लो र जोखिमपूर्ण बनेको भन्दै प्रशासनले सावधानी अपनाउन अनुरोध गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार जोमसोम–मुक्तिनाथ सडकखण्डअन्तर्गत कालोभिर, खिङ्गा र झारकोट आसपासका क्षेत्रमा हिउँ बाक्लो रूपमा जमेकाले सवारीसाधन लिएर यात्रा नगर्न सल्लाह दिइएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ११, मंगलवार ०६:४३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP