मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रतिनिधिसभा निर्वाचनः आज देशभर प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन

1.1K
SHARES
प्रतिनिधिसभा निर्वाचनः आज देशभर प्रत्यक्षतर्फ उम्मेदवार मनोनयन

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ आज देशभर उम्मेदवार मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना भइसकेको छ र मनोनयनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै पनि प्रकारको तडकभडक नगर्न आग्रह गर्दै सबै राजनीतिक दल र उम्मेदवारलाई शान्त, अनुशासित र मर्यादित ढंगले निर्वाचन कार्यालय पुग्न अनुरोध गरेको छ । भीडभाड कम गरी प्रक्रिया सहज बनाउने उद्देश्यले आयोगले प्रमुख दल तथा उम्मेदवारका लागि समयसमेत तोकेको जनाएको छ ।

आयोगले यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिकतर्फ ११० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना निर्वाचित हुने व्यवस्था रहेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको आयोगले जनाएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोट प्रक्रिया पनि सुरु भइसकेको छ ।

अधिकांश राजनीतिक दलले उम्मेदवार छनोटको काम सम्पन्न गरिसकेका छन् भने बाँकी दलले पनि आज बिहानसम्म उम्मेदवार टुंग्याउने तयारी गरेका छन् । नेपाली कांग्रेसले केही निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट प्रक्रिया जारी रहेको जनाएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरिसकेको जानकारी दिएको छ । एमाले, नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूले उम्मेदवारलाई आधिकारिक मनोनयन पत्र प्रदान गरिसकेका छन् ।

आयोगको कार्यसूचीअनुसार आज उम्मेदवार मनोनयन दर्ता हुने भएकाले उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ । साथै, सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण पनि आवश्यक पर्ने आयोगले जनाएको छ । अन्य तोकिएका कागजातसमेत लिएर उपस्थित हुन आयोगले आग्रह गरेको छ ।

निर्वाचन आयोगले आवश्यक सबै तयारी पूरा भइसकेको भन्दै आज देशभर उत्साहपूर्ण वातावरणमा उम्मेदवार मनोनयन प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ ६, मंगलवार ००:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP