मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कुकुर तिहार र नरक चतुर्दशीः श्रद्धा, सम्मान र आत्मशुद्धिको दिवस

2.8K
SHARES
कुकुर तिहार र नरक चतुर्दशीः श्रद्धा, सम्मान र आत्मशुद्धिको दिवस

काठमाडौं । तिहारको दोस्रो दिन आज कुकुर तिहार तथा नरक चतुर्दशी श्रद्धा, भक्तिभाव र धार्मिक विधिपूर्वक मनाइँदैछ । घर आँगनमा कुकुरलाई माला, टीका लगाइ मीठा खानेकुरा खुवाएर पूजा गर्ने चलन आज देशभर मनाइएको छ ।

यमराजका दूतको पूजा
वैदिक सनातन परम्परा अनुसार कुकुरलाई यमराजका दूत तथा धर्मराजको द्वारपाल मानिन्छ । आजको दिन कुकुरको पूजा नगरी भोजन गर्दा पाप लाग्ने धार्मिक विश्वास छ । पुराण अनुसार यमलोकको द्वार रक्षण गर्ने कुकुरलाई तिहारमा सम्मान गर्दा मृत्युपश्चात् आत्मालाई स्वर्ग जाने मार्ग सहज हुने विश्वास गरिन्छ ।

द्वापर युगमा धर्मराज युधिष्ठिरलाई स्वर्गारोहणको क्रममा एक वफादार कुकुरले अन्तिम क्षणसम्म साथ दिएको प्रसङ्ग कुकुरको निष्ठा र पवित्रताको प्रतीक मानिन्छ । ऋग्वेदमा वर्णित ‘समरा’ नामकी कुकुर आमाको कथाले पनि कुकुरको योगदानप्रति सनातन परम्पराको श्रद्धा देखाउँछ ।

कुकुरलाई ‘भैरवको वाहन’ घरको पहरेदार, अपराध पत्ता लगाउने सहयोगी, र प्राकृतिक विपत्ति पूर्वानुमान गर्ने जीवका रूपमा पूजा गरिन्छ । यही कृतज्ञता र सम्मानस्वरूप आजको दिन कुकुर तिहारका रूपमा मनाइन्छ ।

आत्मशुद्धिको दिन — नरक चतुर्दशी
आजकै दिनलाई ‘नरक चतुर्दशी’ पनि भनिन्छ, जसले पाप नाश र आत्मशुद्धिको प्रतीक दिनको रूपमा स्थान पाएको छ । यस दिन बिहानै तिलको तेल, चन्दन र सुगन्धित द्रव्य प्रयोग गरी स्नान गर्दा नरकबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ ।

स्नानअघि अपमार्ग वनस्पति शिरमा घुमाएर पाप नाशको भावना व्यक्त गरिन्छ । साथै यमराजका १४ नाम उच्चारण गर्दै तिलयुक्त जलले तर्पण गरे विगतका पाप नष्ट हुने विश्वास गरिन्छ ।

यमराजका १४ नाम (१. यम, २. धर्मराज, ३. मृत्यु, ४. अन्तक, ५. वैवस्वत, ६. काल, ७. सर्वभूताक्ष, ८. औदुम्बर, ९. दन्ध, १०. नील, ११. परेमेष्ठी, १२. वृकोदर, १३. चित्र, १४. चित्रगुप्त) छन् ।

आजको दिन मासको साग खाने, आलसको बोट बालेर ताप्ने र दीपदान गर्ने प्रचलन पनि रहेको छ, जसले आत्मा शुद्ध भई स्वर्ग प्राप्त हुने धार्मिक विश्वास राखिन्छ ।

कुकुर तिहार र नरक चतुर्दशी नेपाली धर्म, संस्कृति र प्रकृतिप्रतिको श्रद्धाको उत्कृष्ट उदाहरण हो । कुकुरजस्तो वफादार जनावरप्रतिको कृतज्ञता तथा आत्मशुद्धि र मुक्ति खोज्ने प्रयास आजको दिनको मूल सन्देश हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ३, सोमबार ००:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP