मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चक्रवात ‘मोन्था’को प्रभाव बिहीबारदेखि नेपालमा, तीन दिनसम्म मौसम प्रभावित हुने

1.8K
SHARES
चक्रवात ‘मोन्था’को प्रभाव बिहीबारदेखि नेपालमा, तीन दिनसम्म मौसम प्रभावित हुने

काठमाडौं । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा आगामी बिहीबार दिउँसोदेखि देखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज (मंगलबार) सार्वजनिक गरेको विशेष बुलेटिनमा चक्रवातको प्रभाव तीन दिनसम्म रहने उल्लेख गरिएको छ ।

विभागका अनुसार चक्रवात मोन्था अहिले भारतको आन्ध्र प्रदेशतर्फ अगाडि बढिरहेको छ । आज राति उक्त क्षेत्र प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै यो प्रणाली उत्तर–उत्तर पश्चिमतर्फ सर्दै न्यूनचापीय क्षेत्रको रूपमा नेपाल नजिकिने अनुमान गरिएको छ । चक्रवात कमजोर भए पनि यसको प्रभावले नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसमलाई विशेष रूपमा प्रभावित गर्ने देखिएको छ ।

मधेश र कोशीमा भारी वर्षाको सम्भावना
विभागका अनुसार मधेश र कोशी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा तथा केही स्थानहरूमा भारी वर्षा हुने सम्भावना छ । बागमती प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ । त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा हल्का वर्षा हुन सक्ने देखिएको छ ।

हिमाली भूभागमा हिमपात
कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात हुन सक्ने सम्भावना छ । गण्डकी प्रदेशका हिमाली भूभागमा पनि मध्यम स्तरको हिमपात हुन सक्ने उल्लेख गरिएको छ ।

बाढी र पहिरोको जोखिम
विभागले चेतावनी दिँदै भनेको छ कि चक्रवातको प्रभावले देशका विभिन्न नदीहरूमा बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ । विशेषगरी बागमती, कोशी, कमला र कन्काई नदी तथा तिनका सहायक नदीहरूमा सतर्कता तहसम्म पानीको बहाव पुग्न सक्ने अनुमान गरिएको छ ।

त्यस्तै, बागमती प्रदेशका काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, मकवानपुर, सिन्धुली, चितवन, मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी, र कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, इलाम, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र संखुवासभा जिल्लामा बहने साना नदी–नालामा आकस्मिक बाढीको जोखिम उच्च रहेको विभागले जनाएको छ ।

जनसाधारणलाई सतर्क रहन आग्रह
विभागले सम्भावित वर्षा र हिमपातका कारण बाढी, पहिरो, सडक तथा हवाई यातायात अवरोध, कृषि र पर्यटन क्षेत्रमा असर पर्न सक्ने चेतावनी दिएको छ । साथै, विभागले आफ्नो वेबसाइट, सामाजिक सञ्जाल र टोल–फ्री नम्बर ११५५५० मार्फत अद्यावधिक सूचना लिएर आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

विभागले मोन्था चक्रवातको गतिशीलता र यसको प्रभावबारे नियमित अनुगमन भइरहेको बताउँदै, जनसुरक्षाका उपाय अपनाउन सम्बन्धित निकाय र नागरिकलाई तयार रहन अनुरोध गरेको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ कार्तिक ११, मंगलवार १४:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP