मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

करार सेवामा कार्यरत कर्मचारीका लागि पनि महँगी भत्ता दिने सर्वोच्चको आदेश

2.1K
SHARES
करार सेवामा कार्यरत कर्मचारीका लागि पनि महँगी भत्ता दिने सर्वोच्चको आदेश

काठमाडौं । करारमा रहेका सरकारी कर्मचारीलाई पनि महँगी भत्ताको सुविधा दिनुपर्ने भन्दै सर्वोच्च अदालतले सरकारलाई परमादेश जारी गरेको छ ।

न्यायाधीश द्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासले सोमबार सुनाएको फैसलामार्फत करार सेवामा कार्यरत कर्मचारीलाई पनि स्थायी कर्मचारीसरह महँगी भत्ता उपलब्ध गराउन आदेश दिएको हो । अदालतको आदेशबारे सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।

एकीकृत सरकारी कर्मचारी संगठनका उपाध्यक्ष श्यामप्रसाद सापकोटाले गत असार १६ गते सर्वोच्चमा रिट दायर गर्दै करार सेवामा रहेका कर्मचारीमाथि अन्यायपूर्ण विभेद भएको जिकिर गरेका थिए । रिटमा स्थायी कर्मचारीहरूले पाउने महँगी भत्ताबाट आफूहरू वञ्चित भएको भन्दै समान सुविधा उपलब्ध गराउन माग गरिएको थियो ।

‘हामी स्थायी कर्मचारीसँगै काम गर्छौं, तर महँगी भत्ता पाइँदैन,’ रिट दायर गर्ने कर्मचारीहरूले भनेका छन्, ‘पहिले यो भत्ता दुई हजार रुपैयाँ थियो, अहिले पाँच हजार पुगेको छ । महँगी सबैको बढ्छ, तर करार कर्मचारीलाई नदिने निर्णय अवैधानिक हो ।’

रिटमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संसद सचिवालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई विपक्षी बनाइएको थियो ।

सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत तलब वृद्धि नगरी महँगी भत्ता पाँच हजार रुपैयाँ पुर्‍याए पनि करार सेवाका कर्मचारीलाई उक्त सुविधा नदिएको थियो ।

रिट निवेदनमा स्थायी र करार/अस्थायी कर्मचारीबीच हुने विभेदकारी निर्णयहरू बदर गर्न माग गर्दै महँगी भत्ता, बिरामी र घर बिदा, संचयकोष लगायतका सामाजिक सुरक्षा सुविधा पनि स्थायी कर्मचारीसरह लागू गर्न परमादेश जारी गर्न माग गरिएको थियो । अदालतले फैसला गर्दै रिट निवेदकहरुको माग अनुसार समान सुविधा दिन सरकारलाई आदेश दिएको हो ।



अगुल्टो अगुल्टो   
  • २०८२ भाद्र ३, मंगलवार ०७:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP