मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सामाजिक सद्भाव बिथोल्ने आरोपमा तराईका ६ जिल्लाबाट ३९ जना पक्राउ

1.6K
SHARES
सामाजिक सद्भाव बिथोल्ने आरोपमा तराईका ६ जिल्लाबाट ३९ जना पक्राउ

काठमाडौं । तराईका विभिन्न जिल्लामा सामाजिक सद्भाव र शान्ति–सुरक्षामा असर पुर्‍याउने गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार पक्राउ परेका व्यक्तिमाथि सामाजिक सद्भाव खलबल्याउने तथा सार्वजनिक शान्ति भंग हुने गतिविधिमा संलग्न भएको आशंकामा अनुसन्धान अघि बढाइएको छ । घटनाको प्रकृति र संलग्नताको आधारमा कानुनी प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए ।

पक्राउ पर्नेमा सबैभन्दा धेरै धनुषा जिल्लाका २१ जना रहेका छन् । त्यस्तै सर्लाहीबाट ९, सिरहाबाट ५, महोत्तरीबाट २, पर्साबाट १ र सप्तरीबाट १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले उनीहरूमाथि आवश्यक अनुसन्धान गरिरहेका छन् ।

यसअघि बिहीबार पनि धनुषा, महोत्तरी र सिराहामा सामाजिक सद्भाव बिथोल्ने आरोपमा २५ जनालाई पक्राउ गरिएको थियो । तर प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई हाजिर जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ । बिहीबार धनुषाबाट १२, महोत्तरीबाट १० र सिराहाबाट ३ जना पक्राउ परेका थिए ।

प्रहरीले पछिल्ला दिनहरूमा तराईका केही जिल्लामा देखिएको तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ । कुनै पनि अफवाह फैलाउने, उक्साहटपूर्ण गतिविधि गर्ने वा सामाजिक तथा धार्मिक सद्भावमा खलल पुर्‍याउने कार्य नगर्न सबैलाई आग्रह गरिएको छ ।

प्रहरीले सामाजिक सञ्जालमार्फत गलत सूचना वा भड्काउने सामग्री प्रसारण गर्ने व्यक्तिहरूमाथि समेत निगरानी बढाइएको जनाएको छ । शान्ति, सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न स्थानीय प्रशासन, सुरक्षा निकाय तथा समुदायबीच समन्वय गरेर आवश्यक कदम चालिएको प्रहरीको भनाइ छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १६, शनिबार ०१:०२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP