मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भदौरेमा वृद्ध दम्पतीको निर्मम हत्या, एक महिनामै दोस्रो भयावह घटना

2.3K
SHARES
भदौरेमा वृद्ध दम्पतीको निर्मम हत्या, एक महिनामै दोस्रो भयावह घटना

ओखलढुंगा । जिल्लाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा फेरि एक वृद्ध दम्पतीको विभत्स हत्या भएको छ । भदौरेस्थित बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी श्रीमती चन्द्रमाया राईको शव आफ्नै पसलभित्र हत्या गरिएको अवस्थामा फेला परेको हो ।

स्थानीयका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो किराना पसलमा लुटपाटपछि उनीहरूको हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको सूचना पाएलगत्तै स्थानीय प्रहरी घटनास्थलमा पुगेको छ भने क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

वडा अध्यक्ष बलराम कटवालले प्रारम्भिक अनुसन्धानबाट लुटपाटकै उद्देश्यले हत्या भएको हुनसक्ने संकेत देखिएको बताए । “घटना अत्यन्तै दुःखद र निन्दनीय छ, स्थानीयवासी निकै त्रसित छन्,” उनले भने ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले आफू नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको जानकारी दिए । उनका अनुसार घटनाको सूक्ष्म अनुसन्धान सुरु गरिएको छ र दोषी पहिचानका लागि सबै पक्षबाट खोजी भइरहेको छ ।

यसअघि करिब एक महिनाअघि पनि यही चिशंखुगढी गाउँपालिका–६ भदौरेमै ६० वर्षीय शोभितमान थापामगर र उनकी श्रीमती रत्नमाया थापामगरको हत्या भएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा चार जना पक्राउ परेर अनुसन्धान भइरहेको अवस्थामा पुनः अर्को दोहोरो हत्याको घटना सार्वजनिक भएपछि स्थानीयमा भय र आक्रोश बढेको छ ।

लगातार भएका हत्या घटनाले भदौरे क्षेत्रमा गम्भीर सुरक्षा चुनौती थपिएको भन्दै स्थानीयवासीले प्रहरी प्रशासनसँग दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन् । घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ १३, मंगलवार ०६:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP