मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

धार्मिक सद्भाव कायम गर्न साम्पाङको अपिल, संवाद र सहकार्यमा जोड

234
SHARES
धार्मिक सद्भाव कायम गर्न साम्पाङको अपिल, संवाद र सहकार्यमा जोड

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा पछिल्लो समय देखिएको धार्मिक तथा साम्प्रदायिक तनावप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन र संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन् ।

शुक्रबार ‘राष्ट्रलाई सन्देश’ शीर्षकमा जारी अपिलमा उनले शान्ति नै सुख, समृद्धि र खुसीको आधार भएको उल्लेख गर्दै आपसी सम्मान र सहअस्तित्वको संस्कृतिले मात्र देशमा दिगो शान्ति स्थापना गर्न सकिने बताएका छन् ।

साम्पाङले नेपाल सबै नेपालीको साझा देश भएकाले धर्म, जात वा समुदायका आधारमा विभेद हुन नहुने उल्लेख गरेका छन् । उनले सबै धर्मावलम्बी नागरिकको अधिकार समान रूपमा सुनिश्चित हुनुपर्ने र त्यसका लागि सबै धर्म तथा धार्मिक आस्थाप्रति उच्च सहिष्णुता आवश्यक रहेको बताएका छन् ।

उनले श्रम संस्कृति पार्टीले सबै धर्मलाई समान सम्मान गर्ने नीति लिएको स्पष्ट पार्दै कुनै पनि धर्मलाई नजिक वा टाढाको दृष्टिले नहेर्ने बताएका छन् ।

देशमा देखिएको धार्मिक तथा साम्प्रदायिक द्वन्द्वको समाधानका लागि राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा तथा सरोकारवाला सबैले सकारात्मक मनोभावका साथ संवाद र सहकार्य गर्नुपर्नेमा साम्पाङले जोड दिएका छन् ।

सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले श्रम संस्कृति पार्टी आवश्यक पर्दा सकारात्मक सहयोग गर्न सधैं तयार रहेको बताएका छन् ।

साथै, सामाजिक सद्भाव बिथोल्ने वा धार्मिक भावनामा चोट पुग्ने खालका अभिव्यक्ति र गतिविधिबाट टाढा रहन सम्पूर्ण नागरिकलाई आग्रह गर्दै उनले जिम्मेवार र संयमित व्यवहार प्रदर्शन गर्न सबैसँग अपिल गरेका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ श्रावण १५, शुक्रबार ०४:५१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP