मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

निर्वाचन आयोगको कडा सुरक्षा घेरा: मदिरा बिक्रीदेखि सवारी सञ्चालनसम्म प्रतिबन्ध

585
SHARES
निर्वाचन आयोगको कडा सुरक्षा घेरा: मदिरा बिक्रीदेखि सवारी सञ्चालनसम्म प्रतिबन्ध

काठमाडौं । आसन्न निर्वाचनलाई स्वच्छ, शान्तिपूर्ण र भयरहित बनाउन निर्वाचन आयोगले कडा प्रशासनिक व्यवस्था लागू गरेको छ । मतदानको मिति नजिकिँदै जाँदा मदिरा बिक्रीदेखि सवारी सञ्चालनसम्म विभिन्न गतिविधिमा समयसीमा तोकेर प्रतिबन्ध लगाइएको हो ।

आयोगका अनुसार फागुन १४ गतेदेखि नै देशभर मादक पदार्थको बिक्री, वितरण तथा सेवनमा रोक लगाइएको छ । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार यो प्रतिबन्ध निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म कायम रहनेछ । उक्त निर्णय निर्वाचन सुरक्षा समितिले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ अनुसार गरेको हो ।
निर्वाचन प्रचारप्रसारमा पनि समयसीमा तोकिएको छ । फागुन १८ गते राति १२ बजेदेखि सबै प्रकारका चुनावी प्रचारप्रसार गतिविधि पूर्ण रूपमा बन्द हुने आयोगले जनाएको छ ।

यस्तै, मतदानको दिन सवारी सञ्चालनमा समेत कडाइ गरिनेछ । फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते मतदान सम्पन्न नभएसम्म सार्वजनिक तथा निजी सवारीसाधन सडकमा सञ्चालन गर्न पाइने छैन । यस कारण मतदाताले मतदान केन्द्र पुग्न वैकल्पिक व्यवस्था मिलाउन आयोगले आग्रह गरेको छ ।

यद्यपि केही अत्यावश्यक सवारीसाधन भने निषेधको दायराबाहिर रहनेछन् । एम्बुलेन्स, दमकल र शव वाहन, रक्तसञ्चार सेवाका सवारीसाधन, सुरक्षा निकायका गाडी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मत सेवाका सवारीसाधन, कूटनीतिक नियोगका गाडी र आयोगबाट पास प्राप्त सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही हुने आयोगले चेतावनी दिएको छ । गृह मन्त्रालयको समन्वयमा जिल्ला आचारसंहिता अनुगमन समिति, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निगरानी तथा कार्यान्वयनका लागि सक्रिय बनाइएको छ ।

फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुने आयोगले जनाएको छ । मतदातालाई सवारी निषेधको व्यवस्थालाई ध्यानमा राख्दै समयमै आफ्नो मतदान केन्द्र पुग्ने योजना बनाउन पनि आग्रह गरिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ फाल्गुन १४, बिहीबार ०६:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP