मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

1.7K
SHARES
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सगिर आलम सवार गाडीको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो चुनावी प्रचारप्रसारका क्रममा भएको दुर्घटनामा इशनाथ नगरपालिका–४ मठिया निवासी ४ वर्षीया अल्फा खातुनको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दिउँसो करिब २ः३० बजे चुनावी घरदैलो कार्यक्रमका लागि जाँदै गरेको बा १५ च ४२४४ नम्बरको कारले बालिकालाई ठक्कर दिएको थियो । तीव्र गतिमा रहेको बताइएको गाडीको ठक्करबाट बालिका गम्भीर घाइते भएकी थिइन् ।

दुर्घटनापछि चालकले नै घाइते बालिकालाई उपचारका लागि गौरस्थित प्रादेशिक अस्पताल पुर्‍याएका थिए । तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेपछि चालक अस्पताल परिसरबाट फरार भएको प्रहरीले जनाएको छ । अस्पताल स्रोतका अनुसार बालिकाको टाउको तथा शरीरका भित्री भागमा गम्भीर चोट लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) विष्णुप्रदीप बस्यालले घटनाको पुष्टि गर्दै ठक्कर दिने गाडी नियन्त्रणमा लिइएको र फरार चालकको खोजी कार्य तीव्र पारिएको जानकारी दिए । उनले घटनाबारे उम्मेदवारसँग पनि आवश्यक सोधपुछ गरिने बताए ।

दुर्घटनापछि मठिया क्षेत्रका स्थानीय आक्रोशित बनेका छन् । निर्वाचनका बेला उम्मेदवारहरू सवार सवारी तीव्र गतिमा चलाउने प्रवृत्तिका कारण दुर्घटना बढेको भन्दै स्थानीयले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

घटनाबारे रास्वपा उम्मेदवार सगिर आलमले हालसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन् । प्रहरीले मृतक बालिकाको शव पोष्टमार्टमका लागि अस्पतालमै राखेको छ भने पीडित पक्षले क्षतिपूर्तिको माग गर्दै आन्दोलनको तयारी गरिरहेको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २२, बिहीबार ११:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP