मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अन्तर्राष्ट्रिय अनिश्चितताबीच नेपाली बजारमा सुन २ लाख ४० हजार नजिक, बजारमा अभाव चुलियो

1.8K
SHARES
अन्तर्राष्ट्रिय अनिश्चितताबीच नेपाली बजारमा सुन २ लाख ४० हजार नजिक, बजारमा अभाव चुलियो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलाको मूल्य २ लाख ३८ हजार रुपैयाँ रहेकामा बिहीबार बढेर २ लाख ३९ हजार २०० रुपैयाँमा पुगेको छापावाल सुनको मूल्यले २ लाख ४० हजारको नजिक पुगेको हो ।

यससँगै चाँदीको मूल्य पनि तीव्र गतिमा बढेको छ । बुधबार तोलामा २ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार ३५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

मूल्य निरन्तर बढ्दै जाँदा बजारमा सुनको अभाव देखिन थालेको छ । मूल्य अझै बढ्ने आशाले माग बढेपछि सुन आपूर्तिमा कमी आएको व्यवसायीहरू बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिकत्न शाक्यका अनुसार हाल बजारमा सुन र चाँदी दुवैको अभाव देखिएको छ ।

‘अहिले दैनिक २० किलोभन्दा बढी सुन ल्याउन पाइँदैन, तर बजारमा माग धेरै छ,’ शाक्यले बताए, ‘मूल्य बढेपछि सुन बेच्नेहरू घटेका छन्, त्यसैले अभावको अवस्था आएको हो ।’

सुनको मूल्य वृद्धिले लगानीकर्ताको आकर्षण पनि बढाएको छ । विवाह सिजन नजिकिँदै गर्दा ग्राहकहरूले अग्रिम रूपमा सुन किन्ने क्रम बढेको छ । व्यवसायीहरूले समेत मूल्य अझ बढ्ने अपेक्षामा सुन होल्ड गर्न थालेका छन् ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ४ हजार अमेरिकी डलर प्रतिऔंस नाघिसकेको छ । विश्व राजनीति अस्थिर बन्दै गएसँगै सुरक्षित लगानीको विकल्पका रूपमा सुनतर्फ आकर्षण बढेको विश्लेषण गरिएको छ ।

पूर्वअध्यक्ष शाक्यका अनुसार मूल्य हाल कहाँ पुग्छ भन्ने ठ्याक्कै अनुमान गर्न सक्ने अवस्था छैन । ‘सुनमा ४ हजार डलरको टार्गेट पूरा भइसकेको छ, अब मूल्य कहाँ पुग्ने हो भन्न सकिन्न,’ उनले भने, ‘तर यदि राजनीतिक परिदृश्य स्थिर भयो भने मूल्य घट्न पनि सक्छ ।’

नेपालमा जेनजी आन्दोलन चलिरहँदा विश्वका विभिन्न देशहरूमा पनि राजनीतिक अस्थिरता र आन्दोलन जारी छन् । फ्रान्समा नवनिर्वाचित राष्ट्रपतिले राजीनामा दिएपछि अनिश्चितता थपिएको छ भने इजरायल–गाजा र युक्रेन–रुस युद्धको प्रभावले पनि सुनको मूल्य बढ्न योगदान पुर्‍याएको विश्लेषकहरू बताउँछन् ।

युद्धविरामका प्रयास सफल भएमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य केही घट्न सक्ने सम्भावना विज्ञहरूले औंल्याएका छन् ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन २३, बिहीबार ०५:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP