मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रूसको सुदूरपूर्वी क्षेत्रमा ८.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

2.9K
SHARES
रूसको सुदूरपूर्वी क्षेत्रमा ८.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

काठमाडौं । रूसको सुदूरपूर्वी तटीय क्षेत्रमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (USGS) का अनुसार उक्त भूकम्पको म्याग्निच्युड ८.७ मापन गरिएको हो ।

सुरुमा यसको तीव्रता ८ म्याग्निच्युडको रूपमा सार्वजनिक गरिएको थियो, तर पछि परिमार्जन गरी ८।७ मा अद्यावधिक गरिएको हो । भूकम्पको केन्द्रबिन्दु पेट्रोपाभ्लोभ्स्क–काम्चात्स्की सहरबाट करिब १३६ किलोमिटर पूर्वमा र भुइँबाट १९ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

भूकम्पपछि समुद्री छालको जोखिम उच्च भएको भन्दै प्रशान्त सुनामी चेतावनी केन्द्रले सम्भावित ठूलो र खतरनाक सुनामीको पूर्वानुमान गरेको छ । त्यसैअनुसार काम्चात्का प्रायद्वीपमा सुनामीको चेतावनी जारी गरिएको छ ।

काम्चात्काका गभर्नर भ्लादिमिर सोलोदोभले तटीय क्षेत्रमा बसोबास गरिरहेका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । प्रारम्भिक विवरणहरू अनुसार हालसम्म कुनै ठूलो क्षति नभएको जनाइएको छ ।

यसैबीच, जापानको मौसम विज्ञान एजेन्सीले पनि आफ्नो तटीय क्षेत्रमा १ मिटरको छाल आउन सक्ने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ । जापानी सार्वजनिक प्रसारक NHK का अनुसार जापानका केही भागमा सतर्कता सूचना जारी गरिएको छ ।

भूकम्पको असर अमेरिका सम्म पर्ने सम्भावना रहेको भन्दै हवाई टापुहरू र अलास्काको एल्युसियन द्वीपसमूहमा समेत सुनामीको सम्भावनाबारे पूर्वसूचना जारी गरिएको छ ।

भूकम्पपछि साखालिन टापुका केही बासिन्दाहरूलाई सुरक्षित क्षेत्रमा सार्ने काम पनि सुरु भएको छ । उक्त टापु भूकम्पको केन्द्रभन्दा दक्षिणपश्चिममा पर्छ ।

काम्चात्का प्रायद्वीप प्रशान्त महासागरको ‘रिङ अफ फायर’ नामक क्षेत्रमा पर्छ, जुन विश्वकै सबैभन्दा सक्रिय भूकम्पीय र ज्वालामुखीय क्षेत्रहरूमध्ये एक मानिन्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण १४, बुधबार ०५:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP