मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कांग्रेसको निर्णय : वडा अधिवेशनमा सहभागी निवर्तमान केन्द्रीय सदस्यलाई पुनः केन्द्रीय समितिमा ल्याइने

91
SHARES
कांग्रेसको निर्णय : वडा अधिवेशनमा सहभागी निवर्तमान केन्द्रीय सदस्यलाई पुनः केन्द्रीय समितिमा ल्याइने

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी अघि बढाउँदै १४औँ महाधिवेशनका निवर्तमान केन्द्रीय सदस्यलाई वर्तमान केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको छ । त्यसका लागि उनीहरूलाई आगामी वडा अधिवेशनमा सहभागी हुन पार्टीले आह्वान गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रिय रूपमा सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेको हो । बैठकले वडा अधिवेशनमा सहभागी हुने १४औँ महाधिवेशनका निवर्तमान केन्द्रीय सदस्यलाई पुनः केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

महामन्त्री पौडेलका अनुसार निवर्तमान केन्द्रीय सदस्यहरू सम्बन्धित वडामा पुगेर अधिवेशन प्रक्रियामा सहभागी भए उनीहरूलाई केन्द्रीय समितिमा समेटिनेछ । कांग्रेसको संशोधित विधानले केन्द्रीय सदस्यसमेत सम्बन्धित वडाबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ । यससँगै विगतमा रहेको केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधान हटाइएको छ ।

बैठकपछि कांग्रेसका एक पदाधिकारीले अघिल्लो केन्द्रीय समितिमा रहेका सबै नेताहरूलाई पुनः केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिने बताए । विशेष महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउवा नेतृत्वको समितिमा रहेका केही नेता नयाँ केन्द्रीय समितिमा समेटिएका थिएनन् । पछिल्लो निर्णयले उनीहरूलाई पुनः पार्टीको केन्द्रीय संरचनामा फर्किने अवसर दिएको छ ।

कांग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय यसअघि नै गरिसकेको छ । त्यसअघि असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ । महाधिवेशन लक्षित तयारीअन्तर्गत पार्टीले क्रियाशील सदस्यताको विषयमा पनि निर्णय गरेको छ ।

संस्थापन पक्षले गत पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यतालाई मान्यता दिने निर्णय गरेको छ । निवर्तमान केन्द्रीय समितिका सबै सदस्यलाई पुनः केन्द्रीय संरचनामा समेट्ने तथा उनीहरूलाई महाधिवेशन आयोजक समितिका रूपमा अघि बढाउने निर्णयले कांग्रेसले १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिएको देखिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ भाद्र २९, सोमबार ०१:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP