मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सौर्य एयरलाइन्स दुर्घटनाः पाइलटको गल्ती र कम्पनीको लापरबाहीले गयो १८ को ज्यान

2.3K
SHARES
सौर्य एयरलाइन्स दुर्घटनाः पाइलटको गल्ती र कम्पनीको लापरबाहीले गयो १८ को ज्यान

काठमाडौं । सौर्य एयरलाइन्सको सीआरजे–२०० विमान दुर्घटनाको कारण पाइलटको निर्णयात्मक त्रुटि र कम्पनीको गम्भीर लापरबाही रहेको निष्कर्ष सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाइएको अन्तिम प्रतिवेदनमा दुर्घटनाको प्रमुख कारक मानव भूल र प्राविधिक असावधानीलाई औंल्याइएको छ ।

गत साउन ९ गते त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको ९एन–एएमई कलसाइनको जहाज टेक–अफको केही क्षणमै धावनमार्गको छेउमा खस्दा १८ जनाको मृत्यु भएको थियो । तीमध्ये पाइलट मनीष शाक्य भने बाँचेका थिए । दुर्घटनापछि गठन गरिएको रतिशचन्द्रलाल सुमन नेतृत्वको जाँच आयोगले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनले विमान सञ्चालन र व्यवस्थापन पक्ष दुबैमा गम्भीर त्रुटि देखाएको छ ।

टेकअफमा ‘डीप स्टल’: पाइलटको मूल गल्ती
प्रतिवेदनअनुसार, दुर्घटना टेकअफकै क्रममा भयो । जहाजको अगाडिको भाग अत्यधिक उठाउँदा पिच रेट असामान्य रूपमा बढेको र यसै कारण जहाजको गति घटेर ‘डीप स्टल’को अवस्थामा पुगेको बताइएको छ । डीप स्टलमा पखेटामा हावाको बहाव अवरुद्ध भएर जहाजले उचाइ लिन नसक्ने अवस्था उत्पन्न हुन्छ ।

केवल पिच रेट मात्र होइन, पाइलटले टेकअफ स्पीडको गलत क्याल्कुलेसन गरेका थिए । ‘स्पीडकार्ड’मा उल्लेख गरिएको ‘भी–स्पीड’ नै गलत थियो । झन, सो स्पीडकार्ड कम्पनीले औपचारिक रूपमा स्वीकृतसमेत नगरेको देखिएको छ ।

उडान अनुमति र तयारीमा समेत गम्भीर चूक
दुर्घटनाग्रस्त जहाज ३४ दिनदेखि ग्राउन्डेड रहेको थियो । मर्मतका लागि गरिएको यो ‘फेरी फ्लाइट’का लागि आवश्यक योजना, पूर्वतयारी र सुरक्षा मापदण्डको समेत उपेक्षा गरिएको पाइएको छ । अपरेटरले लागू प्रावधानअनुसारको अपरेसन म्यानुअल र ग्राउन्ड ह्यान्डलिङ निर्देशिका नअपनाएको उल्लेख गरिएको छ ।

लोडिङ, कार्गो र सुरक्षा प्रक्रियामा अराजकता
जहाजमा लोड गरिएका सामग्रीहरू (मर्मत उपकरणदेखि कार्गोसम्म) उपयुक्त तवरले न त नापजाँच गरिएको थियो, न त बाँधिएको थियो । प्रतिवेदन अनुसार, तौलको सन्तुलन गणना नगरी, असंगत रूपमा जहाजमा उपकरण, झोलाहरू, इन्धनयुक्त वा ज्वलनशील वस्तुहरू राखिएका थिए । यसले टेकअफका बेला नियन्त्रणमा समस्या थपेको हो ।

वातावरण राम्रो, प्रविधि ठीक–ठाक, तर मानवीय कमजोरीले विपत्ति
दुर्घटनाको समयमा मौसम सामान्य र हावा शान्त थियो । जहाजको संरचना, पावर प्लान्ट वा प्रविधिमा कुनै समस्या थिएन । जसले दुर्घटनाको एकमात्र प्रमुख कारक पाइलटको गल्ती र कम्पनीको व्यवस्थापकीय लापरबाही भएको पुष्टि गर्छ ।

दुर्घटनापछि प्रमाण नष्ट गर्ने प्रयास
घटनाको दिनै विमानस्थलबाट दुर्घटनास्थलको सामग्रीहरू हटाएर सौर्य एयरलाइन्सको कार्यालयमा सारिएको प्रतिवेदनले उल्लेख गरेको छ । यसलाई प्रमाण छेडछाड सरहको कार्यको संज्ञा दिँदै, विमानस्थल प्रशासनको भूमिकामाथि प्रश्न उठाइएको छ ।

सुधारको चेतावनी, सुरक्षा उपेक्षाको परिणाम
सौर्य एयरलाइन्सको ऐतिहासिक उडान विवरणअनुसार पनि तीव्र पिच दर (८.६ डिग्री प्रति सेकेन्डसम्म) बारम्बार देखिँदा पनि कम्पनीले सुधार नगरेको देखिन्छ । पाइलटहरूलाई गलत स्पीडकार्ड दिइनु र उनीहरूले त्यो नोट नगर्नु, न रिपोर्ट गर्नु कम्पनीको उडान सुरक्षामाथि नै गम्भीर शंका पैदा गर्छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ श्रावण ३, शनिबार ०७:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP