मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सञ्चारमाध्यममा मातृभाषा पत्रकारिताको अवस्था र चुनौतीबारे परामर्श कार्यक्रम सम्पन्न

1.6K
SHARES
सञ्चारमाध्यममा मातृभाषा पत्रकारिताको अवस्था र चुनौतीबारे परामर्श कार्यक्रम सम्पन्न

काठमाडौं । सञ्चारमाध्यममा मातृभाषा पत्रकारिताको अवस्था, विकासक्रम र चुनौतीबारे केन्द्रित परामर्श कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको सहकार्यमा काठमाडौंस्थित किम्ची रेस्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गोरखापत्रका नायब कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रले ‘गोरखापत्रमा मातृभाषा पत्रकारिता: इतिहास, सम्भावना र चुनौती’ शीर्षक कार्यपत्र प्रस्तुत गरे । उनले २०६४ सालदेखि गोरखापत्र संस्थानले बहुभाषिक सामग्री प्रकाशन सुरु गरेको इतिहास उल्लेख गर्दै, संस्थानबाट हाल ३३ भाषामा सामग्री प्रकाशित भइरहेकाले समावेशी पत्रकारिताको अभ्यास बलियो भएको बताए । प्रारम्भमा तामाङ, मैथिली, नेपाल र गुरुङ भाषामा सामग्री परीक्षणका रूपमा सुरु भए पनि पछि नियमित प्रकाशनमा परिणत भएको उनले जानकारी दिए ।

मिश्रले मातृभाषा पत्रकारिता सांस्कृतिक र भाषिक संरक्षण, विकेन्द्रीकरण तथा संघीयताको प्रवर्द्धनमा महत्वपूर्ण माध्यम भएको उल्लेख गरे । तर, सीमित स्रोत, बहुभाषिक लिपीको प्रवन्ध तथा मातृभाषा कम साक्षरता चुनौतीका रूपमा देखिएको उनले औँल्याए ।

रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख तारा वस्थीले संस्थाबाट सातै प्रदेशबाट विविध भाषामा समाचार र कार्यक्रम प्रशारण भइरहेको उल्लेख गर्दै, मातृभाषा कार्यक्रमको निरन्तरता रेडियो नेपालको प्राथमिकतामा रहेको बताए ।

नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरि क्याम्पाराईले मातृभाषा पत्रकारिताबारे कार्यपत्र प्रस्तुत गर्दै संस्थाले नेपाल भाषा, तामाङ, गुरुङ, मैथिली, लिम्बू, थारु र डोट्याली गरी सात भाषामा कार्यक्रम उत्पादन गरिरहेको जानकारी दिए । साथै, राष्ट्रिय स्तरमा मगर, भोजपुरी, उर्दुलगायतका भाषामा समेत कार्यक्रम प्रशारण भइरहेको उल्लेख गर्दै उनले समावेशीकरणलाई संस्थाको प्रमुख कार्यदिशा भएको बताए । ‘शक्तिविहीनका लागि शक्ति बन्न मातृभाषा पत्रकारिता अपरिहार्य छ,’ उनले भने ।

कार्यक्रममा फोनिजका अध्यक्ष लक्की चौधरीले मातृभाषा पत्रकारिता सीमान्तीकृत समुदायलाई मुख्यधारमा ल्याउने महत्वपूर्ण माध्यम भएको बताए । ‘मातृभाषा केवल भाषा नभई सांस्कृतिक पहिचान र परम्परागत ज्ञानको संवाहक हो,’ उनले भने। चौधरीले लोकसेवामा मातृभाषा पत्रकारिता समावेश गरिनुपर्ने माग गर्दै एक घर एक पत्रकार अभियानमार्फत फोनिजले मातृभाषा पत्रकारको विकासमा काम गरिरहेको बताए । यद्यपि, विज्ञापनको अभाव, आर्थिक स्रोतको कमी, दक्ष जनशक्तिको न्यूनता र मुलधारका मिडियाबाट हुने उपेक्षा मातृभाषा पत्रकारिताका प्रमुख चुनौती रहेको उनले उल्लेख गरे ।

कार्यक्रममा विभिन्न सञ्चार माध्यममा आबद्ध पत्रकारहरूको सहभागिता थियो । सहभागीहरूले मातृभाषा पत्रकारिता सुदृढ गर्न नीतिगत सुधार, स्रोत परिचालन र व्यापक जनचेतनाको खाँचो रहेको धारणा राखेका थिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ असार १३, शुक्रबार १३:१५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP