मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खिजीदेम्बा गल्फ प्रतियोगिता २०८३ सुरु, देम्बाडाँडामा पर्यटन प्रवर्द्धनको नयाँ पहल

429
SHARES
खिजीदेम्बा गल्फ प्रतियोगिता २०८३ सुरु, देम्बाडाँडामा पर्यटन प्रवर्द्धनको नयाँ पहल

खिजीदेम्बा (ओखलढुंगा) । ओखलढुंगाको थोलेदेम्बा डाँडामा खिजीदेम्बा गल्फ प्रतियोगिता २०८३ औपचारिक रूपमा सुरु भएको छ । समुद्री सतहबाट करिब तीन हजार ३५० मिटर उचाइमा अवस्थित देम्बाडाँडा जिल्लाकै अग्लो स्थानमध्ये एक हो, जहाँ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागितामा प्रतियोगिता आयोजना गरिएको हो । शनिबार आयोजित उद्घाटन समारोहमा खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले कार्यक्रमको शुभारम्भ गरेका थिए ।

नयाँ वर्ष २०८३ को अवसर पारेर वैशाख १ र २ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताले स्थानीय पर्यटनलाई थप गति दिने अपेक्षा गरिएको छ । नेपाल सरकारले सूचीकृत गरेको महत्वपूर्ण गन्तव्य देम्बाडाँडालाई केन्द्रमा राख्दै गाउँपालिकाले दीर्घकालीन पर्यटन विकासको लक्ष्यसहित यो महोत्सव आयोजना गरेको अध्यक्ष शेर्पाले जानकारी दिए ।

गाउँपालिकाले हरेक वर्ष नयाँ वर्षको अवसरमा देम्बाडाँडामा गल्फ प्रतियोगिता सञ्चालन गर्ने नीतिगत निर्णयसमेत यसअघि नै गरिसकेको छ ।

कार्यक्रममा विभिन्न जातीय समुदायले आ–आफ्ना सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए, जसले महोत्सवलाई अझ रंगीन बनाएको थियो । साथै, चैत २८ देखि ३० गतेसम्म जातीय झाँकी प्रतियोगिता समेत सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

एकै स्थानबाट दर्जनौँ हिमशृंखलाको दृश्यावलोकन गर्न सकिने, साथै विभिन्न प्रजातिका गुराँस र फूलहरूको सुगन्धमा रमाउन पाइने भएकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्दै आएको छ ।

खिजीदेम्बा गल्फ प्रतियोगिताको मुख्य उद्देश्य खेलमार्फत गाउँपालिकालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्दै स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउनु रहेको आयोजकले जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ बैशाख १, मंगलवार १५:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP