मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

२१ खर्बभन्दा ठूलो बजेट सार्वजनिक, तलब वृद्धिदेखि क्रिकेट रंगशालासम्मका योजना

728
SHARES
२१ खर्बभन्दा ठूलो बजेट सार्वजनिक, तलब वृद्धिदेखि क्रिकेट रंगशालासम्मका योजना

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक सुधार, प्रशासनिक पुनर्संरचना, सामाजिक सुरक्षा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

सार्वजनिक गरिएको बजेटमध्ये ५९ दशमलव ८ प्रतिशत चालु खर्चका लागि छुट्याइएको छ भने २० दशमलव ३ प्रतिशत पुँजीगत खर्च र १९ दशमलब ९ प्रतिशत वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ । सरकारले आगामी वर्ष १४ खर्ब ५ अर्ब रुपैयाँ आन्तरिक राजस्वमार्फत संकलन गर्ने लक्ष्य राखेको छ । बाँकी स्रोत वैदेशिक अनुदान, ऋण तथा आन्तरिक ऋणबाट जुटाइने उल्लेख गरिएको छ ।

कर्मचारीको तलब र भत्ता बढाइयो
यसपटकको बजेटमा राष्ट्रसेवक कर्मचारीहरूको पारिश्रमिक वृद्धि प्रमुख आकर्षण बनेको छ । सरकारले कर्मचारीहरूको सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गर्नुका साथै कार्यसम्पादनमा आधारित थप १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ ।

सरकारका अनुसार नयाँ व्यवस्थापछि न्यूनतम तलब ४० हजार रुपैयाँ नजिक पुग्नेछ भने उच्च तहका कर्मचारीहरूको तलब एक लाख रुपैयाँभन्दा माथि पुग्नेछ । सरकारले कर्मचारीको मनोबल वृद्धि र बढ्दो महँगीलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ ।

सामाजिक सुरक्षामा जोड
सामाजिक सुरक्षा कार्यक्रमका लागि सरकारले १ खर्ब २० अर्ब रुपैयाँ विनियोजन गरेको छ । बजेटमार्फत दलित बालबालिकालाई पोषण भत्ता दिने नयाँ कार्यक्रम ल्याइएको छ ।

महिलामैत्री सार्वजनिक यातायातको अवधारणाअनुसार ‘ब्लु बस’ सञ्चालन गरिने घोषणा गरिएको छ । यस्तै स्वास्थ्य क्षेत्रका नर्सिङ कर्मचारीहरूको रात्रि भत्ता दोब्बर बनाइने भएको छ ।

पूर्वाधार र यातायातमा नयाँ योजना
सरकारले राष्ट्रिय गौरवका आयोजनामध्ये काठमाडौं–तराई द्रुतमार्ग निर्माणका लागि १७ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

विद्युतीय सवारी साधनमा लाग्ने भन्सार महसुलको व्यवस्था पनि परिवर्तन गरिएको छ । अब गाडीको मोटर क्षमताका आधारमा होइन, मूल्यका आधारमा कर निर्धारण गरिने बजेटमा उल्लेख छ । सरकारले यसलाई कर प्रणालीलाई व्यवहारिक र व्यवस्थित बनाउने प्रयासका रूपमा प्रस्तुत गरेको छ ।

शिक्षा, स्वास्थ्य र प्रशासनिक सुधार
शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब रुपैयाँ छुट्याइएको छ । स्वास्थ्यतर्फ नेपाल औषधी लिमिटेड लाई २५ प्रकारका औषधी उत्पादन गर्न सक्षम बनाइने लक्ष्य सरकारले लिएको छ ।

प्रशासनिक सुधारअन्तर्गत मन्त्रालयहरूको संख्या घटाएर १८ मा सीमित गर्ने नीति अघि सारिएको छ । साथै डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास खारेज गर्ने निर्णय पनि बजेटमार्फत घोषणा गरिएको छ । सरकारले खर्च कटौती र कूटनीतिक संरचनाको पुनरावलोकनलाई यसको कारण बताएको छ ।

खेलकुद र रेमिट्यान्समा नयाँ कार्यक्रम
खेलकुद पूर्वाधार विकासअन्तर्गत आगामी पाँच वर्षभित्र पाँच वटा अन्तर्राष्ट्रिय स्तरका क्रिकेट रंगशाला निर्माण गर्ने योजना सार्वजनिक गरिएको छ । क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सरकारले यसलाई प्राथमिक परियोजनामा राखेको हो ।

यस्तै वैदेशिक रोजगारीबाट रेमिट्यान्स पठाउने नेपालीलाई प्रोत्साहन गर्न ‘रेमिट्यान्स लटरी’ कार्यक्रम सञ्चालन गरिने घोषणा गरिएको छ । सरकारले औपचारिक बैंकिङ प्रणालीमार्फत पैसा पठाउन प्रोत्साहन गर्न यस्तो योजना ल्याएको जनाएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ जेष्ठ १५, शुक्रबार १३:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP