मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित, अफगानिस्तान पराजित

897
SHARES
दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित, अफगानिस्तान पराजित

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ । निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि खेल सुपर ओभरमा पुगेको थियो भने पहिलो सुपर ओभर पनि बराबरी भएपछि विजेता दोस्रो सुपर ओभरबाट टुंगिएको हो ।

दोस्रो सुपर ओभरमा दक्षिण अफ्रिकाले २३ रन बनाएको थियो । जवाफमा अफगानिस्तानले १९ रन मात्र बनाउन सकेपछि दक्षिण अफ्रिकाले महत्वपूर्ण दुई अंक जोड्यो । यस जितसँगै समूह ‘डी’मा रहेको दक्षिण अफ्रिका ४ अंकसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ । समान ४ अंक भए पनि उत्कृष्ट नेट रनरेटका आधारमा न्युजिल्यान्ड शीर्ष स्थानमा रहेको छ । अफगानिस्तान भने लगातार दोस्रो हारपछि दबाबमा परेको छ ।

पहिलो सुपर ओभरमा दुवै टोलीले समान १७–१७ रन बनाएपछि खेल अझ रोमाञ्चक बनेको थियो । दक्षिण अफ्रिकाले पहिलो सुपर ओभरमा अन्तिम बलमा छक्का प्रहार गर्दै खेललाई बराबरीमा पुर्‍याएको थियो । जवाफमा अफगानिस्तानका अजमतुल्लाह ओमारजाइले आक्रामक ब्याटिङ गर्दै ५ बलमा १६ रन जोडेका थिए ।

त्यसअघि दक्षिण अफ्रिकाले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १९.४ ओभरमा १ सय ८७ रनमा अलआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो । अफगानिस्तानका लागि ओपनर रहमुल्लाह गुरबाजले ४२ बलमा ८४ रनको उत्कृष्ट इनिङ खेले । उनले ४ चौका र ७ छक्का प्रहार गरेका थिए । अजमतुल्लाह ओमारजाइले २२ रन तथा कप्तान राशिद खानले २० रनको योगदान दिए ।

दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडीले ३ विकेट लिए भने मार्को जानसेन, कागिसो रबाडा, जर्ज लिन्डे र केशव महाराजले समान एक–एक विकेट लिए ।

यसअघि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस जितेर फिल्डिङ रोजेको अफगानिस्तानविरुद्ध पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो । रायन रिकेल्टोनले २८ बलमा ६१ रन बनाउँदा क्विन्टन डि ककले ५९ रनको योगदान दिए । डेवाल्ड ब्रिभिसले २३ र डेभिड मिलरले २० रन जोडे ।

अफगानिस्तानका लागि अजमतुल्लाह ओमारजाइले ३ विकेट लिए भने राशिद खानले २ तथा फजलहक फारुकीले एक विकेट लिए ।



अगुल्टो अगुल्टो   
  • २०८२ माघ २८, बुधबार १०:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP