मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कवि तथा गीतकार टीका चाम्लिङको ५३ वर्षको उमेरमा निधन

156
SHARES
कवि तथा गीतकार टीका चाम्लिङको ५३ वर्षको उमेरमा निधन

काठमाडौं । कवि तथा चर्चित गीतकार टीका चाम्लिङको क्यान्सर रोगका कारण निधन भएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथला खाम्ला निवासी चाम्लिङको ५३ वर्षको उमेरमा मंसिर ५ गते राति उपचारका क्रममा निधन भएको हो ।

२०३० साल माघ ४ गते जन्मिएका चाम्लिङको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको थियो । उनी २०८० सालदेखि क्यान्सर रोगसँग संघर्षरत थिए । पहिलोपटक क्यान्सरलाई पराजित गर्न सफल भए पनि पुनः शरीरको अर्को भागमा क्यान्सर देखिएपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो ।

उनको पार्थिव शरीरमा संगीत तथा नाट्य प्राङ्गणमा श्रद्धाञ्जली अर्पण गरेपछि जन्मथलो खोटाङ लगेर अन्त्येष्टि गर्ने तयारी गरिएको राईका आफन्तले जनाकारी दिएका छन् ।

नेपाली गीत, कविता तथा मौलिक संस्कृतिको क्षेत्रमा लामो समयदेखि सक्रिय चाम्लिङका दुई सयभन्दा बढी गीत रेकर्ड भएका छन् । उनका ‘जाउँ सँगी गाउँघरैमा’ र ‘आलु तामाले’ लगायतका गीत लोकप्रिय छन् । गीतसंगीतसँगै साहित्य सिर्जनामा समेत उत्तिकै सक्रिय उनले विभिन्न विधामा कृति प्रकाशित गरेका छन् ।

उनका प्रकाशित कृतिहरूमा ‘सधैँभरि’ (गीति अडियो, २०५८), ‘राखौँ सम्झना’ (लोकजुहारी शब्द संकलन, २०५९), ‘सोमबारे हाटैमा’ (लोकजुहारी शब्द संकलन, २०५९), ‘सपनाको रङ’ (गीतिकाव्य, २०६०), ‘समयको रङ’ (गीतिकाव्य, २०६४), ‘जूनको बस्ती’ (गीतिकाव्य, २०६८), ‘मुन्दुम र मालिङ्गो’ (गीतिकाव्य, २०७१) र ‘बागी कविता’ (कविताकाव्य, २०८०) लगायत छन् ।

साहित्य तथा संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै चाम्लिङले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरेका थिए । उनले २०६१ सालमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत–संगीत सम्मेलनमा रचनातर्फ सर्वोत्कृष्ट गीतकारको पुरस्कार प्राप्त गरेका थिए । त्यसैगरी २०७५ सालमा रेडियो नेपालकै राष्ट्रव्यापी बालगीत–संगीत सम्मेलनमा पनि सर्वोत्कृष्ट गीतकार घोषित भएका थिए ।

उनले २०७३ सालमा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतबाट नेपाली प्रतिभा पुरस्कार, २०७२ सालमा खोटाङ सेवा समाज बेलायतबाट खोटाङ प्रतिभा पुरस्कार तथा २०७८ सालमा कोशी प्रदेश सरकारबाट प्रदेश भाषा, साहित्य, कला र संस्कृति सम्मान प्राप्त गरेका थिए । यसबाहेक उनले विभिन्न संघसंस्था र निकायबाट दर्जनौँ सम्मान तथा पुरस्कार पाएका थिए ।

चाम्लिङको निधनले नेपाली गीतसंगीत, साहित्य तथा मौलिक संस्कृति संरक्षणको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ । उनका श्रीमती र एक छोरा छन् ।



अगुल्टो अगुल्टो   
  • २०८३ मंसिर ७, आईतवार ०५:५४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP