मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री शाहको भारत भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल

0
SHARES
प्रधानमन्त्री शाहको भारत भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणलाई उपलब्धिमूलक र परिणाममुखी भन्दै यसले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाएको बताएका छन् । भ्रमणले दुई देशबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै आर्थिक विकास, पूर्वाधार र समृद्धिका क्षेत्रमा सहकार्य विस्तार गर्ने आधार तयार गरेको उनको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीको भारत भ्रमणबारे जानकारी दिँदै मन्त्री खनालले भ्रमणबाट भएका सहमतिले दुवै देशका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको राजकीय भ्रमणका क्रममा कनेक्टिभिटी, ऊर्जा, व्यापार, आर्थिक साझेदारी र जनस्तरको सम्बन्ध विस्तारलगायत विषयमा महत्वपूर्ण उपलब्धि हासिल भएको उनले बताए ।

भ्रमणको मुख्य उपलब्धिका रूपमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले ‘विकसित भारत–समुन्नत नेपाल’ सम्बन्धी संयुक्त दूरदृष्टि दस्तावेज जारी गरेका छन् । यसले आर्थिक तथा विकास साझेदारी, भौतिक र डिजिटल सम्पर्क सञ्जाल, ऊर्जा, जलवायु परिवर्तन, विपद् व्यवस्थापन, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, स्टार्टअप, अन्तरिक्ष तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने मार्गचित्र प्रस्तुत गरेको छ ।

उक्त दस्तावेजले नेपाल र भारतबीच विगतमा भएका सन्धि, सम्झौता तथा समझदारीलाई समयानुकूल पुनरावलोकन र आवश्यक परिमार्जन गर्ने सम्भावनासमेत अघि बढाएको मन्त्री खनालले जानकारी दिए । विशेषगरी सन् १९५० को सन्धिलगायत पुराना सम्झौताको पुनरावलोकनका लागि यसले नयाँ आधार सिर्जना गरेको उनको भनाइ छ ।

व्यापार तथा पारवहनतर्फ नेपालले भारतका थप दुई बन्दरगाह प्रयोग गर्न पाउने सहमति भएको छ । यसअघि कोलकाता र विशाखापट्टनम बन्दरगाह प्रयोग गर्दै आएको नेपालले अब गुजरातको दीनदयाल (कान्डला) र ओडिशाको पारादीप बन्दरगाहसम्म पहुँच पाउने भएको छ । यसबाट तेस्रो मुलुकसँगको नेपालको व्यापार सहजीकरण हुने अपेक्षा गरिएको छ ।

धार्मिक तथा सांस्कृतिक सम्बन्ध विस्तारका लागि जनकपुर–अयोध्याबीच यात्रुवाहक रेलसेवाको दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल उद्घाटन गरेका छन् । त्यस्तै, हवाई सम्पर्क विस्तारअन्तर्गत हाल एकतर्फी सञ्चालनमा रहेको बी–३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको छ ।

सीमापार पूर्वाधार विकासमा पनि महत्वपूर्ण प्रगति भएको छ । भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुलको संयुक्त उद्घाटन गरिएको छ भने बनबासामा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणको शिलान्यास भएको छ । यी संरचनाले सीमापार आवागमन, व्यापार र भन्सार प्रक्रियालाई थप सहज बनाउने विश्वास गरिएको छ ।

ऊर्जा क्षेत्रमा इनरुवा–न्यू पूर्णिया र दोधारा–बरेली विद्युत् प्रसारण लाइन संयुक्त लगानीमा निर्माण गर्ने सहमति भएको छ । यसैगरी तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गरिएको छ । भारतको सहयोगमा निर्माण भएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालनमा ल्याइएको छ भने झापा–सिलिगुडी पेट्रोलियम पाइपलाइनको शिलान्याससमेत गरिएको छ ।

लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने सहमति भएको मन्त्री खनालले बताए । उनका अनुसार यसले आयोजनालाई अघि बढाउने प्रक्रियामा सकारात्मक वातावरण निर्माण गर्नेछ ।

शिक्षा र अनुसन्धानको क्षेत्रमा नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को सम्बन्धन प्राप्त क्याम्पस स्थापना गर्ने निर्णय पनि भ्रमणको महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ । यसबाट उच्च शिक्षा, अनुसन्धान, नवप्रवर्तन र दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । फरेन्सिक विज्ञान तथा अनुसन्धान, सुरक्षा र प्रहरी प्रशिक्षण, निजामती कर्मचारीको क्षमता विकास, आयुर्वेद तथा परम्परागत चिकित्सा, दक्षिण एसिया भूउपग्रहको उपयोग, दिगो सहरी विकास, स्वास्थ्य तथा औषधि र पशुपालन तथा मत्स्यपालन विकाससम्बन्धी विषयमा समझदारी भएको हो ।

सीमा व्यवस्थापनका विषयमा पनि दुवै देशले चासो देखाएका छन् । नेपाल–भारत सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भ मर्मतसम्भारमा भएको प्रगतिलाई आधार मानेर विद्यमान सीमासम्बन्धी विषयमा थप काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको मन्त्री खनालले जानकारी दिए ।

यसैगरी भ्रमणका क्रममा भएका उच्चस्तरीय छलफल र सहमतिलाई समेटेर नेपाल र भारतले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । दुवै देशका उद्योगी, व्यवसायी तथा लगानीकर्ताको सहभागितामा नेपाल–भारत व्यापार गोलमेच बैठकसमेत आयोजना गरिएको थियो । बैठकमा नेपालको लगानी सम्भावनाबारे जानकारी गराउँदै भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न प्रोत्साहित गरिएको खनालले बताए ।

प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गरेका थिए । उक्त भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो ।

मन्त्री खनालका अनुसार भारतको उच्च राजनीतिक नेतृत्वसँग भएका भेटवार्ता र छलफलले आपसी विश्वास, समझदारी तथा सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेका छन् । भ्रमणबाट कूटनीतिक, आर्थिक र विकास साझेदारीलाई नयाँ गति दिनुका साथै आगामी दिनमा साझा हितका क्षेत्रमा ठोस परिणाम हासिल गर्ने आधार बनेको उनले बताए ।

छिमेकी मुलुकबीच एकअर्काका संवेदनशीलता बुझ्ने, आपसी समन्वयमार्फत समस्याको समाधान खोज्ने र साझा हितलाई प्राथमिकता दिने दृष्टिले पनि प्रधानमन्त्रीको भारत भ्रमण फलदायी रहेको परराष्ट्रमन्त्री खनालको निष्कर्ष छ ।



अगुल्टो अगुल्टो   
  • २०८३ मंसिर ९, मंगलवार ००:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP