मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारतले एसीसी अध्यक्षसँग ट्रफी नलिने निर्णयपछि…

1K
SHARES
भारतले एसीसी अध्यक्षसँग ट्रफी नलिने निर्णयपछि…

काठमाडौं । दुबईमा आइतबार राति सम्पन्न एसिया कपको रोमाञ्चक फाइनल जितेपछि भारतीय क्रिकेट टोलीले खेल भावना विपरीत मानिएको कदम चालेपछि अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो बहस सुरु भएको छ । पाकिस्तानलाई पाँच विकेटले हराउँदै उपाधि जितेको भारतले एसीसीका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी नलिने निर्णय गरेपछि पुरै समारोह नै विवादित बन्यो ।

भारतीय टोलीले ट्रफी अस्वीकार गर्नुको कारण नकवीको पाकिस्तानी पृष्ठभूमि रहेको बताइएको छ । नकवी हाल एसीसीका अध्यक्ष, पाकिस्तान क्रिकेट बोर्डका प्रमुख तथा पाकिस्तानका गृहमन्त्री समेत हुन् ।

बीसीसीआईका सचिव देवजित सैकियाले एएनआईसँग भनेका छन्, “हामीले एसीसी अध्यक्षको हातबाट ट्रफी नलिने निर्णय गरेका छौँ । यसको अर्थ ट्रफी र मेडल पाकिस्तानमै राखिने होइन । यो निकै दुःखद घटना हो र हामी आशा गर्छौं कि चाँडै भारतलाई हस्तान्तरण गरिनेछ । नोभेम्बरमा दुबईमा हुने आईसीसी सम्मेलनमा हामी यसबारे कडा आपत्ति जनाउनेछौँ ।”

पुरस्कार वितरणमा अनौठो ढिलाइ
दुबई समय अनुसार राति १०ः३० बजे सकिएको खेलपछि मध्यरात नजिकसम्म पुरस्कार वितरण सुरु भएन । सुरुमा ढिलाइको कारण नखुले पनि भारतीय टोलीले नकवीसँग ट्रफी लिन अस्वीकार गरेपछि तनाव बढेको अनुमान लगाइयो । एसीसीको विज्ञप्तिमा नकवीले ट्रफी हस्तान्तरण गर्ने उल्लेख गरिएकाले समारोह तयारीमा विवादले ढिलाइ बढाएको देखियो ।

समारोह सुरु भएपछि कुलदीप यादव, अभिषेक शर्मा र तिलक वर्माले व्यक्तिगत पुरस्कार अन्य अधिकारीबाट लिए । पाकिस्तानका कप्तान सलमान आघाले भने नकवीकै हातबाट उपविजेता चेक ग्रहण गरे । त्यसपछि ट्रफी नदिई समारोह टुंगियो ।

प्रस्तोता साइमन डउलले प्रसारणमा भने, “एसीसीबाट जानकारी आएको छ कि भारतीय टोलीले आज राति आफ्नो पुरस्कार लिँदैन । त्यसैले समारोह यहीँ समाप्त भएको छ ।”

कप्तान सूर्यकुमारको गुनासो
पत्रकार सम्मेलनमा भारतीय कप्तान सूर्यकुमार यादवले यस्तो व्यवहार आफूले देखेको पहिलो घटना भएको बताए । उनले भने, “हामीले जितेको ट्रफीबाट वञ्चित गरियो, यो हाम्रो अधिकार हो । यसको मभन्दा राम्रो अभिव्यक्ति म गर्न सक्दिनँ । मेरो लागि ट्रफी भनेको मेरो १४ खेलाडी र सहायक स्टाफ नै हुन् ।”

उनका अनुसार ट्रफी नलिने निर्णय टोलीको सामूहिक थियो र कसैले निर्देशन दिएको थिएन ।

मैदानदेखि मञ्चसम्मको तनाव
खेल सकिएपछि पाकिस्तानी खेलाडीहरू ड्रेसिङ रूमतर्फ फर्किए भने भारतीय खेलाडीहरू मैदानमै बसे । पुरस्कार वितरणको मञ्च निकै ढिलो तयार गरियो । केहीबेरपछि नकवी अधिकारीहरूसँग छलफल गर्दै मैदानमा देखिए । दर्शकहरू क्रमशः कम हुँदै गए तर भारतीय समर्थकको संख्या उल्लेख्य रहे ।

मञ्च तयार भएपछि नकवीसहित गण्यमान्यहरू बसे, तर ट्रफी अचानक हटाइयो र कुनै स्पष्टिकरण दिइएन । पाकिस्तानी टोलीले उपाधि समारोहमा सहभागिता जनायो भने भारतीय खेलाडीहरूले व्यक्तिगत पुरस्कार लिँदा नकवीलाई बेवास्ता गरे ।

नकवीले पनि भारतीय खेलाडीलाई ताली समेत नबजाएको देखियो । पाकिस्तानी टोलीले मेडल र चेक लिएर फोटो खिचायो । अतिथिहरू निस्किएपछि भारतीय टोलीले मञ्चमा गएर काल्पनिक ट्रफी उचाल्दै उत्सव मनायो ।

यस घटनाले केवल खेलमैत्री व्यवहारमाथि मात्र प्रश्न उठाएको छैन, दक्षिण एसियाली क्रिकेट राजनीतिमा नयाँ विवादको बाटो पनि खोलिदिएको छ ।



अगुल्टो अगुल्टो   
  • २०८२ आश्विन १३, सोमबार ०९:०१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP